भुटानी शरणार्थी प्रकरणमा मिडिया माथि आरजुको टिप्पणीः दिस इज रेप अफ माई क्यारेक्टर

होमल्याण्ड खबर

२०८० जेष्ठ १ गते, सोमबार १५:३६ मा प्रकाशित

नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर बदनाम गरेको भन्दै आपत्ति जनाएकी छन् । प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै उनले फेक अडियो बनाएर आफूलाई बदनाम गरिएको बताएकी हुन् ।

उक्त अडियोको फरेन्सिक जाँच गर्न ६ दिनअघि नै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र साइबर क्राइम सेलमा निवेदन दिए पनि अहिलेसम्म जवाफ नपाएको देउवाले बताइन् ।

उनले भनिन्, ‘फेक अडियो मेरो मात्र होइन, अरुको पनि बनेको छ, नाम मेरो मात्र उच्चारण किन भइरहेको छ ? साँच्चै भन्ने हो यो क्यारेक्ट असासिनेसन (चरित्र हत्या) होइन, दिस इज रेप अफ माइ क्यारेक्टर (यो मेरो चरित्रको बलात्कार) हो ।’

महिलालाई राजनीतिमा आउँदा धेरै समस्याको सामना गर्नुपर्ने भन्दै आफूले ब्यहोरिरहेको बताइन् । ‘वुमनलाई पोलिटिक्समा आउँदा सबै कुरा ब्यहोर्न सक्नुपर्छ, म ब्यहोरिरहेको छु । यस्तो किसिमको कदम सबै महिलाप्रति नगरियोस्’ उनले भनिन् ।