देउवाकाे सभापतित्वमा कानून समितिको बैठक

होमल्याण्ड खबर

२०८० जेष्ठ २ गते, मंगलवार १२:२९ मा प्रकाशित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कानून न्याय तथा मानव अधिकार समितिको सभापतित्व ग्रहण गरेका छन् । आज देखी सुरु भएको प्रतिनिधिसभाका १० विषयगत समिति मध्ये कांग्रेस सभापति देउवाले कानुन समितिको अध्यक्षता गरेका हुन ।

उनले जेष्ठ सदस्यको नाताले सो समितिको सभापतित्व ग्रहण गरेको संसद सचिवालयले जनाएको छ ।

यसैगरी राजनीतिक दलका अध्यक्ष मध्ये राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भने राज्य व्यवस्था समितिको बैठकको सभापतित्व ग्रहण गरेका छन् ।

मंसिर ४ को निर्वाचनपछि प्रतिनिधि सभाको पहिलो बैठक पुस २५ गते बसेको थियो । तर संसदीय समितिहरू क्रियाशील थिएनन् । दलहरुबीच समितिको भागबण्डा नमिलेका कारण पनि संसदीय समितिहरु निष्कृय थिए । त्यसबाट सदनको कामकारबाही पनि प्रभावकारी हुन सकेको थिएन।

तर, अझैपनि समितिहरूको सभापति चयन भई नसकेकाले ज्येष्ठ सदस्यको सभापतित्वमा बैठक सुरु गरिएको छ ।