२५ बैशाख २०८३, शुक्रबार
नेपाली पर्वतारोही कामीरिता शेर्पाले कीर्तिमानी २७ औं पटक सगरमाथा आरोहण गर्दै नयाँ कीर्तिमान कायम गरेका छन् । उनले २७ पटक सगरमाथाको सफल आरोहण गरेर आफ्नै रेकर्ड तोड्न सफल भएका हुन् ।
कामीरिताले बुधबावार बिहान साढे ८ बजे सगरमाथाको शिखरमा पाइला टेकेका छन् ।


यसअघि २६ पटक सगरमाथा चढेर शेर्पाले धेरै पटक सगरमाथा आरोहण गर्नेमा विश्व कीर्तिमान राखेका थिए । अहिले उनले आफ्नो पुरानो कीर्तिमानी आफैले भंग गरेका हुन्।
उनले सेभेन समिट ट्रेक्स एभरेष्ट एक्सपिडिसन २०२३ को एक हिस्साको रूपमा २७ औं पटक सगरमाथाको सफल आरोहण गरेका छन ।
सेभेन समिट ट्रेकमा सिनियर गाईडका रूपमा कार्यरत नेपालको सोलुखुम्बुको थामे गाउँका कामीरिता शेर्पाले आफ्नो जीवन पर्वतारोहणमा समर्पित गरेका छन् र विश्वको सर्वोच्च शिखर सगरमाथाको पर्याय बनेका छन् ।
जनवरी २, १९७० मा जन्मेका उनले दुई दशकभन्दा बढी समयदेखि हिमाल आरोहण गर्दै आएका छन्। उनले पाकिस्तानको केटु चो ओयु, ल्होत्से र मनास्लु लगायतका अन्य चुचुराहरू पनि सफल आरोहण गरिसकेका छन् ।