कृषि विकास बैंकले १५ करोड सहुलियत कर्जा दिने

होमल्याण्ड खबर

२०७५ आश्विन २१ गते, आईतवार १०:३८ मा प्रकाशित

कृषि विकास बैंकको क्षेत्रीय कार्यालय दाङले राप्तीमा चालू आर्थिक वर्ष २०७५-७६ मा १५ करोड रुपैयाँ सहुलियत कर्जा दिने निर्णय गरेको छ । क्षेत्रीय कार्यालयले सहुलियत दरमा व्यावसायिक पशुपक्षी तथा कृषि कर्जामा लगानी गर्ने जनाएको हो ।

कृषि क्षेत्रलाई अगाडि बढाउन तथा कृषिको व्यावसायिकीकरण एवम कृषिउपज बेचबिखनका लागि कर्जा प्रदान गर्ने निर्णय भएको क्षेत्रीय कार्यालयका सूचना अधिकारी नर्वदेश्वर चौधरीले जानकारी दिए । उनले दाङ, रोल्पा, प्युठान, सल्यान, रुकुम पश्चिममा गरी १५ करोड रकम लगानी गर्ने बताए । सहुलियत ऋणको ब्याज ११ प्रतिशत मात्र रहने छ । जसमा सरकारले ५ प्रतिशत तिरी दिने गरेको छ भने कृषकले ६ प्रतिशत तिर्नुपर्ने हुन्छ । यस प्रकारको ऋण एक व्यक्तिले एक पटक मात्र प्राप्त गर्ने सक्ने चौधरीले बताए । यसरी लिएको ऋण ५ वर्षभित्रमा तिरी सक्नुपर्ने हुन्छ ।

नयाँ व्यक्तिलाई कृषि क्षेत्रमा आकर्षण गर्नका लागि सरकारले यस प्रकारको कार्यक्रम ल्याएको हो । जसले गर्दा कृषिमा आकर्षण बढ्ने अपेक्षा सरकारले गरेको छ । क्षेत्रीय कार्यालयले यस प्रकारको सहुलियत ऋण चालू आर्थिक वर्षसम्म ३० करोड पु¥याउने जनाएको छ । कार्यालयमार्फत राप्तीका ५ जिल्लामा गरी अघिल्लो आर्थिक वर्षसम्म १५ करोड लगानी भइसकेको छ । सहुलियत ऋण ५० हजारदेखि ५० लाख रुपैयाँसम्म दिने गरिएको छ ।
सहुलियत ऋण दाङमा १९ करोड ७५ लाख, रोल्पामा २ करोड २५ लाख, प्युठानमा ३ करोड ५० लाख लगानी गरेको बैंकले जनाएको छ । त्यसैगरी सल्यानमा २ करोड ५० लाख, रुकुममा १ करोड ७५ लाख लगानी भएको क्षेत्रीय कार्यालयले जनाएको छ ।