२ चैत्र २०८२, सोमबार
सत्ता गठबन्धन दलहरुबीच मधेस प्रदेशमा आलोपालोको सहमति अनुसार अहिलेकै पहिलो चरणमा जसपा नेतृत्वको सरकारलाई निरन्तरता दिने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा दलहरुबीच यस्तो सहमति भएको गठबन्धन दलका नेताहरुले बताएका छन् । हाल मधेस प्रदेश सरकारको नेतृत्व जसपाले गरिरहेको छ । तर केन्द्रीय सत्ता गठबन्धनमा आएको फेरबदलसँगै कांग्रेसले आलोपालो अन्तर्गत पहिलो चरणमा आफ्नो दलले सरकारको नेतृत्व गर्न पाउनुपर्ने अडान लिँदै आएको थियो ।
कांग्रेसको यो अडानका कारण मधेस प्रदेश सरकार पुनर्गठन हुन सकेको थिएन । यो विवाद मिलाउन प्रधानमन्त्री निवासमा केही दिनदेखि नियमित बैठक बस्दै आएको थियो । शुक्रबार बसेको बैठकले मधेसमा आलोपालो सरकारको नेतृत्व गर्ने र पहिलो चरणमा जसपा नेतृत्वकै सरकारलाई निरन्तरता दिने माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं मधेस प्रदेश माओवादी संसदीय दलका नेता भरत साहले बताए ।

