चीनले बोआओ फोरममा निम्ता गरेको हो, नजाने निर्णय नेपालले गरेको होइन : प्रधानमन्त्री

होमल्याण्ड खबर

२०८० जेष्ठ ९ गते, मंगलवार १६:२३ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनमा भएको बोआओ फोरममा नजाने निर्णय नेपालले नगरेको स्पष्ट पारेका छन् ।

मंगलबार राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय सभाका सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।

उनले चीनमा भएको बोआओ फोरममा चिनियाँ राजदूतले नै देशको अफ्ठ्यारो परिस्थितिलाई देखेर अर्को समयमा चीन भ्रमण राख्ने भनेपछि आफूले धन्यवाद दिएको बताए ।

‘उत्तर-दक्षिण भ्रमणको कुरा ल्याउनु भयो, यसमा हाम्रो कुनै संवैधानिक बाध्यता छैन, प्रधानमन्त्रीले पहिला कताको भ्रमण गर्ने भन्ने कुरा त्यस्तो केही बाध्यता छैन, समय, परिस्थिति अनुसार गरिने कुरा हो,’ उनले भने,

उनले समय, परिस्थिति अनुसार छिमेकी देशहरूको भ्रमण गर्ने बताउँदै भुगोल, अर्थतन्त्र, खुला सीमाना, जनसम्बन्धका दृष्टिले भारतको महत्व र विशिष्टता बढी रहेको स्पष्ट पारे ।

‘अहिले उत्तरले बोवाओ फोरममा निम्ता गरेको पक्कै पनि हो, तर त्यहाँ हामी नजाने भनेर निर्णय नेपाल सरकारले गरेको होइन, बरु चिनियाँ राजदूतले नै यहाँको दबाबलाई देखेपछि सरकारको अफ्ठ्यारोलाई देखेर नै धन्यवाद दिएको हो,’ उनले थपे ।

यसै क्रममा प्रधानमन्त्री दाहालले भारत भ्रमणमा मलखादका बारेमा छलफल गर्ने बताए ।