नेता होस् कि नाताको होस् कसैलाई नछाडियोस् : गगन थापा

होमल्याण्ड खबर

२०८० जेष्ठ १० गते, बुधबार १३:३० मा प्रकाशित

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै भुटानी शरणार्थी प्रकरणमा मुछिएका कसैलाई पनि छाड्न नहुने बताएका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिले एकपछि अर्को गर्दै आइरहेका नामले लाज पनि लजाएको उनको टिप्पणी छ ।

थापाले भने, ‘कोको परेको हो, कोको नपरेको हो सुन्दासुन्दै हाम्रो वरिपरि भएका, देखिरहेका, जिम्मेवारीमा रहेका मानिसहरू एकपछि अर्को तानिँदै जाने हो कि भन्नेजस्तो लाग्न थालेको छ ।’

तर यसमा सरकारको परीक्षा रहेको उनको भनाइ छ । सरकार पछि न्यायालयको परीक्षा थापाले बताए । ‘अनुसन्धान कसरी भइरहेको छ सबै नागरिकले हेरिरहेका छन् । चाहे त्यो सलाम गर्ने मान्छे होस् त्यो सलामी लिने मान्छे होस्, जसलाई छोएको छ, जसको नाम आएको छ, त्यसको फेयर अनुसन्धान हुनुपर्छ’, थापाले भने, ‘अनुसन्धान भएन, मैले गरिनँ भन्ने कुराले कसैले पनि मुक्ति पाउने अवस्था छैन । सरकारको परीक्षा पनि छ । सरकारको परीक्षा सकिएपछि न्यायालयको परीक्षा सुरु हुन्छ । न्यायालयले पनि यो विषयमा मैले न्याय गरेँ भनेर मात्रै पाउँदैन । न्यायको अनुभूति हुनुपर्छ ।’