मलाई इरिटेट हुनेगरी मुद्दा हाल्ने उद्योग चलाइएको छ : रवि लामिछाने

होमल्याण्ड खबर

२०८० जेष्ठ ११ गते, बिहीबार १२:०० मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई इरिटेट बनाउने गरी मुद्दा हाल्ने उद्योग चलाइएको बताएका छन् । उनले मान्छेलाई इरिटेट बनाउने सीमा हुने र सिमा नाघेपछि घण्टीले बजाउन पनि मिल्ने उल्लेख गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा सभापति लामिछानेले लेखेका छन्, ‘मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन् । मान्छेलाई इरिटेट गर्ने पनि सिमा हुन्छ।’

लामिछानेले आफूविरुद्ध नागरिकता र राहदानीबारे गरिएका मुद्दा दायर र त्यससम्बन्धमा आफूले पूरा गरेका जानकारी पनि लेखेका थिए । उनले सर्वोच्च अदालतको मिती २०७९।१०।१३ को फैसलाको प्रकरण नं.२२, २८ र ३२ मा आफूले अमेरिकी नागरिकता परित्याग गरेको निश्चित भएको उल्लेख गरेका छन् ।

त्यो अमेरिकी नागरिकता त्यागेको सक्कल निस्सा जिप्रका काठमाडौमा पेस गरि नेपाली नागरिकता पुनः कायम गराएको उल्लेख गर्दै लामिछानेले अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा आफैसँग भएकाले २०८०।०२।०९ मा सर्वोच्च अदालतमा बुझाइसकेको र त्यसको जानकारी र सक्कल बमोजिम नक्कल २०७५।०३।०६ मा अध्यागमनलाई सप्रमाण बुझाइसकेको उल्लेख गरेका छन् ।

यति स्पष्ट हुँदा हुँदै पनि सीमा नाघेमा घण्टी लाई बजाउन मात्र होइन घण्टीले बजाउन पनि मिल्ने उल्लेख गरेका छन् ।