रेशम चौधरीको सजाय माफीसम्बन्धी फाइल राष्ट्रपति कार्यालयले गृह मन्त्रालयमा फिर्ता पठायो

होमल्याण्ड खबर

२०८० जेष्ठ १२ गते, शुक्रबार १६:१२ मा प्रकाशित

राष्ट्रपति रामचन्द्र पौडेलले टीकापुर प्रकरणमा दोषी ठहर भई जेलजीवन बिताइरहेका रेशम चौधरीलाई माफी दिने फाइल फिर्ता पठाइदिएका छन् ।

शीतल निवास स्रोतले भन्यो, ‘रेशम चौधरीको आममाफीका सम्बन्धमा प्रचलित कानुन, रेशम चौधरीको मुद्दासम्बन्धी सर्वोच्चको फैसला, सर्वोच्च अदालतद्वारा प्रतिपादित सिद्धान्त विपरीत नहुने गरी कानुन बमोजिम गर्न भन्दै राष्ट्रपति कार्यालयले गृह मन्त्रालयमा फाइल फिर्ता गरेको छ ।’

सरकारले चौधरीलाई माफी दिन सिफारिस मंगलबार राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । यो विषमा सोही दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति पौडेलसँग छलफलसमेत गरेका थिए ।

राष्ट्रपति कार्यालयले टीकापुरमा हत्या भएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा बोहराले राष्ट्रपति कार्यालयमा दिएको निवेदनलाई गृह मन्त्रालयमा कार्याथ पठाएको छ । बोहोराले चौधरीलाई माफी दिन नहुने भन्दै राष्ट्रपति कार्यालयमा निवेदन दिएकी थिइन् ।