प्रधानमन्त्री दाहाल चारदिने भ्रमणका लागि आज भारत जाँदै

होमल्याण्ड खबर

२०८० जेष्ठ १७ गते, बुधबार १०:२५ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल चारदिने भ्रमणका लागि आज भारत प्रस्थान गर्दैछन् । दिउँसो १ बजे नेपाल एअरलाइन्सको उडानमार्फत भारत प्रस्थान गर्ने प्रधानमन्त्रीको प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए।

नयाँ जनमत आएपछि प्रधानमन्त्री बनेपछि दाहालको यो पहिलो अन्तर्राष्ट्रिय भ्रमण हो।

प्रधानमन्त्रीको भ्रमण टोलीमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्र मन्त्री एनपी साउद, अर्थ मन्त्री डा. प्रकाशशरण महत र उद्योगमन्त्री रमेश रिजाललगायत छन् ।

भारत भ्रमणमा रहँदा प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, उपराष्ट्रपति जगदीप धनकर र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग वार्ता गर्ने तालिका छ। मोदीसँग जेठ १८ गते वार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

उनीहरूबीच भारत र नेपालबीच द्विपक्षीय साझेदारी गर्न विभिन्न क्षेत्रमाथि छलफल हुनेछ। मन्त्रालयका अनुसार वार्तापछि उनीहरूले संयुक्त रूपमा पत्रकार सम्मेलन पनि गर्नेछन्।

त्यसपछि दुई प्रधानमन्त्रीले लन्च समेत गर्ने तालिका छ।

यस्तै नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघले नयाँ दिल्लीमा आयोजना गरेको नेपाल–भारत व्यापार समिटमा पनि प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

त्यसपछि भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्माको आयोजनामा भारतमा रहेका नेपाली समुदायसँग पनि छलफल गर्ने कार्यक्रम छ। यस्तै उनी भारतको मध्यप्रदेशको उज्जैन र इन्दौरको भ्रमण गर्नेछन्।

प्रधानमन्त्री दाहाल नेतृत्वको टोली जेठ यही जेठ २० गते स्वदेश फर्किने कार्यक्रम छ ।

परराष्ट्रमन्त्री एनपी साउदका अनुसार भ्रमणका क्रममा दुई देशबीचको सम्बन्धलाई ज्यादा प्रगाढ बनाउन प्रयत्न रहने छ। ब्यापार तथा पारवहन, हवाई तथा स्थल यातायात, भौतिक पूर्वाधार विकास, आर्थिक सहयोग र ऊर्जाका मुद्दामा बढी जोड दिइने उनको भनाइ छ ।

प्रधानमन्त्री दाहालले पनि भ्रमणमा सके राम्रो गर्ने नसके कुनै नराम्रो काम नहुने बताउँदै आएका छन् ।

यतिबेला भारतको नयाँ संसद भवनमा राखिएको ‘अखण्ड भारत’को नक्सामा नेपाली भूमिका नाम राखिएको विषयमा पनि कुरा उठाउन भ्रमण टोलीलाई दबाब छ ।