राष्ट्रिय योजना आयोगले पायो पूर्णता, महिला सदस्यमा ढुंगाना

होमल्याण्ड खबर

२०८० जेष्ठ २१ गते, आईतवार १३:२६ मा प्रकाशित

राष्ट्रिय योजना आयोगले पूर्णता पाएको छ । आयोगकी नवनियुक्त सदस्य अनीता शाह ढुंगानाले पद तथा गोपनीयताको शपथ लिएसँगै आयोगले पूर्णता पाएको हो । नवनियुक्त सदस्य ढुंगानाले आइतबार आयोगका उपाध्यक्ष मीनहादुर श्रेष्ठसमक्ष पद तथा गोपनीयताको शपथ लिइन् । सोमबार आयोजित शपथ समारोहमा आयोगका सदस्यहरु तथा सदस्य-सचिव केवलप्रसाद भण्डारीलगायतको उपस्थिति थियो ।

महिला सदस्यको रुपमा ढुंगानालाई जेठ १४ गते बसेको मन्त्रिपरिषद् बैठकले नियुक्त गरेको हो । ढुंगाना सामाजिक एवं राजनीतिक क्षेत्रमा सक्रिय छिन् ।

२०७९ जेठ ९ गते आयोगको उपाध्यक्षका रुपमा श्रेष्ठले पदबहाली गरेका थिए । तत्कालीन माओवादी-एमालेसहितको गठबन्धन भत्किएर माओवादी-कांग्रेससहितको गठबन्धन बनेपछि त्यसको असर आयोगलाई पर्‍यो । गठबन्धन परिवर्तनपछि केही नयाँ सदस्यहरु नियुक्त भए पनि आयोगले पूर्णता भने पाउन सकेको थिएन ।

यसअघि आयोगको सदस्यमा रामकुमार फुयाँल, जयकान्त राउत, प्रभु बुढाथोकी, आरपी विच्छा र रमेश पौडेल नियुक्त भइसकेका थिए । नवनियुक्त सदस्य ढुंगानाले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, सञ्चार तथा सूचना प्रविधि, कानुन, न्याय तथा संसदीय मामिला साथै कर्णाली प्रदेश हेर्ने जिम्मेवारी पाएकी छन् ।

फुयाँललाई उद्योग, वाणिज्य तथा आपूर्ति, पर्यटन, श्रम तथा रोजगार, तथ्यांक साथै सुदूरपश्चिम प्रदेशको जिम्मेवारी दिइएको छ । राउतलाई कृषि, भूमि, सहकारी र खानेपानीको जिम्मा दिइएको छ ।

यसैगरी बुढाथोकीलाई ऊर्जा, वन, सार्वजनिक निजी साझेदारी साथै बागमती प्रदेश, बिच्छालाई स्वास्थ्य तथा जनसंख्या, संघीय मामिला तथा सामान्य प्रशासन साथै कोशी प्रदेशको जिम्मेवारी दिइएको छ । यसैगरी पौडेललाई शिक्षा, सहरी विकास, युवा तथा खेलकुदका साथै बागमती प्रदेशको जिम्मेवारी दिइएको छ । उपाध्यक्ष श्रेष्ठको जिम्मामा समष्टिगत आर्थिक क्षेत्र, अर्थ, रक्षा, परराष्ट्र, गृह, भौतिक पूर्वाधार, वैदेशिक सहायता साथै सबै प्रदेशको समन्वय रहेको छ ।