सर्वोच्चको आदेशविरुद्ध नागरिकताविहीनले गरे प्रदर्शन र चक्काजाम

होमल्याण्ड खबर

२०८० जेष्ठ २२ गते, सोमबार १२:५३ मा प्रकाशित

सर्वोच्च अदालतले नागरिकता ऐन कार्यान्वयन नगर्न दिएको अल्पकालीन अन्तरिम आदेश विरोधमा धनुषाको महेन्द्रनगरमा प्रदर्शन र चक्काजाम भएको गरिएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आइतवार अल्पकालिन आदेश दिएको थियो ।

नश्लीय सोचका कारण राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता ऐन कार्यान्वयन नगर्न सर्वोच्चले आदेश दिएको भन्दै नागरिकताविहीन संघर्ष समितिले सोमबार बिहान चक्काजाम गरेको बताएको छ ।

जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता कानुनको विरोध गरेका एमालेलगायत दलहरूविरूद्ध नाराबाजी गरी टायर बालेर प्रदर्शन गरिरहेका छन्।

अहिले सर्वोच्च अदालत, एमालेविरूद्ध पनि उनीहरूले नाराबाजी गरिरहेका छन्। गृह मन्त्रालयले परिपत्र गरिसके पनि जिल्ला प्रशासन कार्यालयले नागरिकता दिन अस्वीकार गरेको भन्दै समितिले हिजो जनकपुरम प्रदर्शन गरेका थिए।

चक्काजामका कारण जनकपुरदेखि पूर्व(पश्चिम हिँडेका यात्रु अलपत्र परेका छन्। पूर्व(पश्चिम राजमार्गका गाडी पनि रोकिएका छन्।