कारबाही गर्ने चेतावनी सहित महानगरले निकाल्यो छात्रवृत्ति नदिने विद्यालयको सूची

होमल्याण्ड खबर

२०८० जेष्ठ २३ गते, मंगलवार १२:५१ मा प्रकाशित

काठमाण्डौ महानगरपालिकाले  नियमअनुसार छात्रवृत्ति दिन अटेर गर्ने निजी विद्यालयको सूची सार्वजनिक गरेको छ ।

महानगरपालिकाले गएको १० गते सार्वजनिक सूचना निकालेर शैक्षिक सत्र २०८० मा कक्षा १० सम्मका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न र त्यसको विवरण वेबसाइटमा प्रकाशित गर्न भनेको थियो । सूचनाअनुसार विवरण पेस गरेका विद्यालयलाई महानगरले धन्यवाद दिएको छ भने नियम उल्लङ्घन गरेका तीन सय ४२ वटा विद्यालयको सूची सार्वजनिक गरेको छ ।

महानगरको शिक्षा विभागले सूची सार्वजनिक गरेका निजी विद्यालयलाई आउँदो २८ गते आइतवारभित्र छात्रवृत्ति दिएको विवरण पठाउन भनेको छ । तोकिएको मितिभित्र विवरण नबुझाए नियमअनुसार विद्यालयलाई दिइएको अनुमति वा स्वीकृति रद्द अथवा प्रचलित कानुन बमोजिम हदैसम्मको कारबाही गर्ने महानगरपालिकाले चेतावनी दिएको छ ।