२ चैत्र २०८२, सोमबार
प्रधानमन्त्री पुष्पकमल दाहालले आफू भारत भ्रमणमा जाने दिन (जेठ १७ गते) नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गर्नु संयोगमात्रै भएको बताएका छन् ।
बुधबार राष्ट्रि सभा बैठकमा प्रधानमन्त्री दाहालले भने, ‘म भारत भ्रमणमा जाने दिने (जेठ १७ गते) राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्नु संयोग मात्र हो । मैले २४ वैशाखमै नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई सुझाव दिएको थिए ।’


राष्ट्रिय सभा बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले संघीय संसदको अधिवेशन आह्वान भएकै दिन प्रमाणीकरण होस् भन्ने आफूले चाहेको बताए ।
राष्ट्रपतिलाई के सल्लाह दिँदा हुन्छ भनेर आफूले संविधानविद्, पूर्वमहान्यायाधिवक्ता र नेपाल बार एशोसिएसनका पदाधिकारीहरुसँग परामर्श गरेको र प्रमाणीकरण गर्दा हुन्छ भन्ने सल्लाह आएको प्रधानमन्त्री दाहालले बताए ।
‘भारत जाने दिन प्रमाणीकरण होस् भनेको होइन । भारत भ्रमणमा जाँदैछु, यो–यो विषयमा कुरा हुँदैछ भन्न गएको थिएँ’, दाहालले भने, ‘मेरो त २४ गते जतिबेला बजेट सेसन सुरु हुने दिन थियो, त्यही दिन प्रमाणीकरण गर्दा हुन्छ भन्ने थियो ।’
राष्ट्रपतिले आफूले पनि कानुनी सल्लाह लिनु पर्ने बताएको दाहालको भनाइ थियो । ‘सल्लाह लिँदै जाँदा संयोग म भारत जाने दिन नै उहाँको सल्लाह टुंगियो । यसमा मेरो केही दोष छैन,’ दाहालले भने ।
राष्ट्रपतिकै आग्रहमा मन्त्रिपरिषद्को १२ जेठको बैठकले नागरिकता विधेयक प्रमाणीकरण गर्न अनुरोध गर्ने निर्णय गरेको दाहालले बताए ।