२५ बैशाख २०८३, शुक्रबार
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लुम्बिनी केबलकारको उद्घाटन गरेका छन् । रूपन्देहीको बुटवलमा आइएमई समूहको लगानीमा बनेको केबलकारको प्रधानमन्त्री दाहालले उद्घाटन गरेका हुन् ।
बुटवलको गोलपार्कदेखि पाल्पाको बसन्तपुरसम्म चल्ने केबलकारमा २४ वटा गोन्डुला (बाकस) रहेका छन् । केबलकार सञ्चालनको दूरी दुई किलोमिटर ६ सय मिटर रहेको छ ।


एक गोन्डुलामा एकपटकमा ८ जना यात्रु सवार गर्न सक्नेछन् । केबलकारले दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्न सक्ने बताइएको छ ।
आइएमई समूहको यो तेस्रो केबलकार हो । यसअघि चन्द्रागिरी र नवलपुरको मौलाकालिकामा केबलकार सञ्चालनमा आइसकेका छन् ।
केबलकारको दैनिक सञ्चालनका लागि बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकासँग त्रिपक्षीय सम्झौता भइसकेको जनाइएको छ । लुम्बिनी केबलकार प्रालिले प्रति टिकट शुल्कको २ प्रतिशत रकम दुई वटा पालिकाका लागि छुट्टाउने छ ।