प्रचण्डविरुद्ध बालसेना दुरुपयोगको मुद्दा दर्ता, ३० गतेलाई तोकियो पेसी

होमल्याण्ड खबर

२०८० जेष्ठ २८ गते, आईतवार १५:०७ मा प्रकाशित

पूर्व बाल सेनाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्धकाे रिट सर्वोच्च अदालतमा  दर्ता भएको छ।

पूर्व बालसेना लेनिन विष्टले प्रधानमन्त्रीविरुद्ध बालसेना दुरुपयोगको रिट दायर गरेका हुन्।

न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासले रिट दायर गर्न आदेश दिएसँगै  उक्त रिट आइतबार दर्ता भएको हो।  सर्वोच्च प्रशासनले यसअघि दरपीठ गरेको रिटलाई बदर गर्दै इजलासले दर्ता गर्न आदेश दिएको हो।

उक्त रिटको पेसी जेठ ३० गतेका लागि तोकिएको छ। विष्टले जनयुद्धको समयमा आफूलाई लडाइँमा प्रयोग गरेको तर त्यसपछि कुनै पनि व्यवस्थापन र वास्ता नगरेको भन्दै रिट दिएका थिए।

पूर्व अयोग्य लडाकुको रुपमा आफूहरु भौंतारिएर हिँडेको तर माओवादी र सरकारबाट कुनै राहत वा सहयोग नपाएको जिकिर रिटमा गरिएको छ। माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धमा बालसेनाको प्रयोग भएको र उनीहरुलाई राज्यले क्षतिपूर्ति दिनुपर्ने नत्र माओवादी र उक्त दलका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जिम्मेवारी लिनुपर्ने दाबी रिटमा गरिएको छ।

इजलासले रिट निवेदन दर्ता गर्न आदेश दिएको र अब निवेदन पेस गर्ने विष्टले बताए। उनले आफूहरु वर्षौंदेखि अन्याय र अपमानका साथै बेवास्थामा परेकाले अब न्यायका लागि लडाइँ लड्ने बताए।

सरकारले यसअघि लडाकुलाई जनही २ लाख राहत दिने घोषणा गरेको छ। सरकारले यसका लागि कार्यविधि पनि बनाएको छ। तर सर्वोच्च अदालतमा मुद्दा दायर भएर अन्तरिम आदेश भएर रोकिएको छ। सर्वोच्चको आदेशपछि सरकारले बजेटमा उक्त कार्यक्रम समावेश गरेको छैन।