सुनुवाइ समितिकाे बैठकमा प्रस्तावित प्रधानन्यायाधीशबारेका उजुरी खोलिने

होमल्याण्ड खबर

२०८० जेष्ठ २९ गते, सोमबार १०:०२ मा प्रकाशित

आज  (सोमबार) संसदीय सुनुवाइ विशेष समितिको बैठक बस्दै छ।

बैठकले प्रधानन्यायाधीशका लागि सिफारिस हरिकृष्ण कार्कीविरुद्ध परेका उजुरीको अध्ययनसम्बन्धी निर्णय गर्ने बताइएको छ।

कार्कीविरुद्ध संसदीय सुनुवाइ समितिमा २९ वटा उजुरी परेको छ ।  कार्कीविरुद्ध एक जना बहालवाला न्यायाधीश समेतले  उजुरी दिएका छन् भने ७ जना अधिवक्ता, ३ जना अधिकारकर्मी लगायतले उजुरी गरेका छन् । जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईका साथै अधिवक्ताहरू अमृत खरेल, यादव कोइराला, ध्रुवबहादुर श्रेष्ठले उजुरी गरेका छन् । यस्तै  अभियन्ता रतन भण्डारीसहितका व्यक्तिहरूले कार्की प्रधानन्यायाधीश लागि योग्य नभएको दाबी गर्दै उजुरी गरेका छन् ।

कार्कीविरुद्ध आर्थिक पाटोका साथै कानुनी पाटोको विषयमा उजुरी परेको सचिवालयले जनाएको छ । समितिले गत जेठ १६ गते १० दिनको समय दिएर उजुरी आह्वान गरेको थियो । जसमध्ये ५ वटा उजुरी इमेल मार्फत आएको र अरु उजुरी लिखित रूपमा कार्यालयमा आएको छ ।