बालेनको चेतावनीपछि बन्द भएनन् महानगरका विद्यालय

होमल्याण्ड खबर

२०८० असार ३ गते, आईतवार ११:५७ मा प्रकाशित

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले महानगरभित्रका सबै विद्यालयमा नियमित कक्षा सञ्चालन गर्न निर्देशन दिँदै अनुपस्थित शिक्षक र कर्मचारीलाई पदमुक्त गर्ने चेतावनी दिएपछि सामुदायिक विद्यालय निर्वाध रूपमा सुचारु भएका छन् ।

नेपाल विद्यालय कर्मचारी परिषद्ले आइतबारदेखि मुलुकभरका सामुदायिक विद्यालय बन्द गर्ने घाेषणा गरेपछि महानप्रगर मुख शाहले शनिबार शिक्षक तथा कर्मचारीलाई चेतावनी दिँदै विद्यालयमा नियमित कक्षा सञ्चालन गर्न निर्देशन दिएका थिए ।

सेवा सुरक्षा ग्यारेन्टी लगायतका विभिन्न माग राख्दै विद्यालय कर्मचारीहरूले आजदेखि सामुदायिक विद्यालय बन्द आह्वान गरेका हुन् ।

मेयरको चेतावनीपछि महानगरभित्रका सामुदायिक विद्यालय खुला रहेका हुन् ।

पद्मोदय माविका प्रधानाध्यापक नारायण गौतमले निर्वाध रूपमा पठनपाठन भइरहेको बताए । विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरिएको र विद्यालय बन्द, हडताल र पठनपाठनमा अवरोध सिर्जना गर्न नहुने भन्दै पठनपाठनमा कुनै अवरोध नभएको बताए । काठमाडौँ महानगरपालिकाले महानगरभित्रका सामुदायिक विद्यालय, सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरू, एवं विद्यालय व्यवस्थापन समितिलाई विद्यालयहरूमा नियमित कक्षा सञ्चालन गर्न निर्देशन दिएको थियो ।