२५ बैशाख २०८३, शुक्रबार
आफूमाथि आक्रमण गर्नेहरूविरुद्ध मुद्दा फिर्ता लिने निर्णयविरुद्ध धर्ना दिने क्रममा जिल्ला अदालत काठमाडौंबाट पक्राउ परेका उपप्राध्यापक प्रेम चलाउने रिहा भएका छन् ।
रिहा भएलगत्तै उनले आफूमाथि सरकारले अन्याय गरेको भन्दै सहेर नबस्ने प्रतिक्रिया दिएका छन् । ‘साँझ ५ बजे पत्रकार सम्मेलन गरेर उपकुलपतिको कार्यालय कीर्तिपुरमै अनशन बस्छु,’ चलाउनेले भने, ‘यो अन्यायलाई सहेर बस्दिनँ । न्यायप्रेमी सबैको साथ सहयोगको अपेक्षा गरेको छु ।’


सोमबार अदालतभित्र होहल्ला र नाराजुलुस गरेको भन्दै प्रहरीले चलाउनेलाई नियन्त्रणमा लिएको थियो । पक्राउ पर्नुअघि उनले आफूले यो मुद्दामा ५ वर्ष चक्कर काटिसकेको र अझै न्याय नपाएको बताएका थिए ।
‘म अदालतको चक्कर काटेको ५ वर्ष भयो । यो देश गुण्डाहरूले राज गरेको देश रहेछ । यहाँ न्याय पनि केही पाइँदो रहेनछ । सरकारले सत्य, न्याय, मानवता मारेको छ । म न्याय खोज्न कहाँ जाउँ ?’ चलाउनेले भनेका थिए, ‘अदालतमा दर्ता भएको मुद्दा सरकारले फिर्ता लियो । अब म न्याय खोज्न कहाँ जाउँ ? त्यसैले म समाजमा न्याय खोज्न आएँ ।’