२ चैत्र २०८२, सोमबार
नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठक आगामी असार २३ गते ११ बजे प्रज्ञा भवन कमलादीमा बस्ने भएको हो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव देव गुरूङले परिपत्र पठाएर बैठकको जानकारी गराएका हुन् ।
परिपत्रमा भनिएको छ, ‘केन्द्रीय समितिको बैठकमा केन्द्रीय समितिका सदस्यहरू, तीनवटै आयोगका सदस्यहरू र सबै प्रदेश समितिका पदाधिकारीहरू सहभागी हुने भएकाले आआफ्ना प्रदेशका सम्बन्धित कमरेडहरूलाई जानकारी गराउनु हुनेछ ।’


अध्यक्ष प्रचण्ड र महासचिव गुरूङले गरेको सर्कुलरमा दुईमहिने अभियानको समग्र समीक्षासहित लिखित प्रतिवेदन यही १५ असारभित्र बुझाउन भनिएको छ । यस्तै, तीन तहका सम्पन्न निर्वाचनमा भएका घातअन्तरघात र कमीकमजोरीहरू भए त्यसको समेत लिखित प्रतिवेदन पठाउन सर्कुलर गरिएको छ ।
निर्देशनमा ‘पार्टी केन्द्रलाई दिनपर्ने केही सुझावहरू भए केन्द्रीय सदस्य, केन्द्रीय विभागका प्रमुखहरू, मोर्चाका फ्याक्सन इञ्चार्जहरूसमेत सबैले लिखित रूपमा २०८० साल असार १५ गतेभित्र केन्द्रीय कार्यालयमा पठाउन सकिने छ ।’
साथै, लेवी बुझाउन बाँकी रहेका सबै केन्द्रीय सदस्यहरू, प्रदेशहरूले बुझाउनु पर्ने २० प्रतिशत लेवी र २०७८ पुसमा सम्पन्न भएको ऐतिहासिक आठौं महाधिवेशनको हिसाब फछ्यौट गर्न बाँकी रहेका प्रदेशले समेत आगामी केन्द्रीय समितिको बैठकअगावै अनिवार्य रूपमा हिसाब मिलान गरी फछ्यौट गर्न समेत निर्देशन निर्देशन दिएको छ ।