२ चैत्र २०८२, सोमबार
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले लागुऔषध नियन्त्रणसम्बन्धी राष्ट्रिय नीति तथा रणनीति र कानूनले अंगीकार गरेका कार्यक्रमको सफल कार्यान्वयन गर्न सबैपक्षबाट इमान्दार प्रयासको आवश्यकता रहेको बताएका छन् ।
सोमवार लागुऔषध दुरुपयोग गतथा अवैध ओसारपसारबिरुद्धको अन्तर्राष्ट्रिय दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले लागुऔषधको प्रयोग नेपालमा पनि समस्याको रुपमा देखा पर्दै आएको भन्दै गाँजा, चरेस, अफिम, हेरोइन जस्ता निषेधित पदार्थ र कोकिन लगायत तोकिएका नियन्त्रित पदार्थ लागुऔषधका रुपमा प्रयोग गर्ने गरिएको पाइएको बताए ।


मन्त्री श्रेष्ठले लागुऔषधका प्रयोग कर्ता बढ्नु, अपराधको दर बढ्दै जानु, लागुऔषधको अवैध कारोबार बढ्नु चिन्ताजनक अवस्था रहेको बताए । उनले नेपालमा लागुऔषध सेवनकर्ता २० देखि २९ वर्ष उमेर समूहको संख्या बढी प्रभावित भएको तथ्यांकले देखाएको बताए । विकासका संवाहक र भविष्यका उत्पादनशील युवा जनशक्ति दुव्र्यसनमा फस्दा व्यक्ति स्वयं, परिवार, समाज र राष्ट्रका लागि हानिकारक हुने उनले बताए ।
उनले लागुऔषध दुरुपयोगको रोकथाम र नियन्त्रणको विषय बहुसरोकारको विषय भएकाले संवद्ध निकायको समन्वय र सहकार्यबाट लागुऔषधको उत्पादन, बिक्री वितरण, सञ्चय, ओसारपसार तथा पुनःस्थापना, जोखिम न्युनिकरण, बिरामीको सामाजिक पुनःस्थापना जनचेतना मुलक अभियानको रुपमा सञ्चालन गरी तीन तहकै सरकारको नीति कार्यक्रममा मुल प्रवाहीकरण गरी सञ्चालन गर्न आवश्यक रहेको बताए ।
लागुऔषध दुरुपयोग बिरुद्धको ऐक्यवद्धता, व्यक्ति समाज र राष्ट्रको प्रतिवद्धता भन्ने नाराकासाथ यस वर्षको लागु औषध दुरुपयोग गतथा अवैध ओसारपसारबिरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइएको हो ।
लागुऔषध दुरुपयोग गतथा अवैध ओसारपसारबिरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजित कार्यक्रममा सचेतनामुलक कार्यक्रमसमेत आयोजना गरिएको थियो । सो अवसरमा नेपाल प्रहरी, शसस्त्र प्रहरी बल लगायत कार्यक्रममा उपस्थित विद्यार्थीहरुले जनचेतना कार्यक्रम प्रश्तुती गरेका थिए ।