जापानको पासपोर्ट विश्वकै सबैभन्दा शक्तिशाली , नेपालको कति स्थानमा ?

होमल्याण्ड खबर

२०७५ आश्विन २६ गते, शुक्रबार १२:२७ मा प्रकाशित

कुनै देशको पासपोर्ट कति शक्तिशाली छ भनेर मापन गर्न उक्त देशका नागरिक वा पासपोर्टधारीले कति देशमा सहज आवतजावत अनुमति पाउँछन् भन्ने कुरालाई आधार मान्ने गरिन्छ ।सोही आधारमा जापानको पासपोर्ट विश्वकै सबैभन्दा शक्तिशाली पासपोर्ट बन्न सफल भएको छ ।हेनेली पासपोर्ट इन्डेक्स’का अनुसार सन् २०१८ मा जापानको पासपोर्ट विश्वकै सबैभन्दा शक्तिशाली पासपोर्ट बन्न सफल भएको छ ।

जापानी नागरिकले १९० देशमा भिसा फ्रि इन्ट्री प्राप्त गर्न सक्छन् । दोस्रो स्थानमा भने सिंगापुर रहेकोछ। दोस्रो स्थानमा रहेको सिंगापुरका पासपोर्टधारीले भने १८९ देशमा भिसा फ्रि इन्ट्री प्राप्त गर्छन् ।गतवर्ष सूचीको शीर्षस्थानमा रहेको जर्मनीको पासपोर्ट भने यसपटक तेस्रो स्थानमा झरेको छ । तेस्रो स्थानमा जर्मनीसँगै फ्रान्स र दक्षिण कोरिया पनि रहेका छन् । यी देशका नागरिकले १८८ देशमा भिसा फ्रि इन्ट्री प्राप्त गर्न सक्छन् ।

त्यस्तै १८७ देशमा भिसा फ्रि इन्ट्री प्राप्त गर्ने डेनमार्क, फिनल्याण्ड, इटाली, स्वीडेन र स्पेन चौथो स्थानमा रहेका छन् । त्यसै गरी अमेरिका, बेलायत, नर्वे, अष्ट्रिया, लक्जेमबर्ग, नेदरल्याण्ड र पोर्चुगल भने पाँचौ स्थानमा रहेका छन् । यी देशका नागरिकले १८६ देशमा भिसा फ्रि इन्ट्री प्राप्त गर्न सक्छन् । चीन भने ७१ औं स्थानमा रहेको छ । चिनियाँ नागरिकले ७४ देशमा भिसा फ्रि इन्ट्री पाउँछन् ।

दक्षिण एसियाली देशहरुमध्ये मालदिभ्सको पासपोर्ट सबैभन्दा शक्तिशाली रहेको छ । इन्डेक्समा ५८ औं स्थानमा रहेको मालदिभ्सका नागरिकले ८७ देशमा भिसा फ्रि इन्ट्री प्राप्त गर्छन् । त्यस्तै छिमेकी देश भारत ८१ औं स्थानमा रहेको छ । भारतीय नागरिकले ६० देशमा भिसाबिनै प्रवेश गर्न सक्छन् । १०१ औं स्थानमा रहेको नेपालका नागरिकले भने ४० देशमा मात्रै सहज प्रवेश पाउँछन् ।

त्यस्तै १०४ औं स्थानमा रहेको पाकिस्तानका नागरिकले ३३ देशमा मात्रै भिसा फ्रि इन्ट्री पाँउछन् । अन्तिम स्थानमा भने इराक र अफगानिस्तान रहेका छन् । १०६ औं स्थानमा रहेका इरका र अफगानिस्तानका नागरिकले ३० देशमा मात्रै भिसा फ्रि इन्ट्री पाउँछन् ।