थप पहिरो नखसे नारायणगढ-मुग्लिन सडक साँझसम्म सञ्चालनमा आउने

होमल्याण्ड खबर

२०८० असार १५ गते, शुक्रबार १५:१४ मा प्रकाशित

बिहीबार मध्याह्नबाट अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक खण्ड थप पहिरो नखसे साँझसम्ममा सञ्चालनमा आउने भएको छ ।

सो सडकको इच्छाकामना गाउँपालिका–५ को तीन किलोमा बिहीबार दिउँसो १ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेशकुमार पौडेलका अनुसार आज बिहान ८ः३० बजेदेखि दुवै तर्फबाट पहिरो पन्छाउने काम भइरहेको छ ।

बेलाबेलामा माथिबाट ढुङ्गा खसेर काममा अवरोध पुगे पनि सजगता अपनाउँदै काम गरिएको उनको भनाइ छ । दुईवटा एक्साभेटर र दुईवटा लोडरले पहिरो पन्छाउने काम गरिरहेका छन् । पौडेलका अनुसार थप पहिरो नखसेमा साँझ ५ बजेसम्ममा सडक सञ्चालन गर्न सकिने गरी काम भइरहेको छ ।