९ मंसिर २०८१, आईतवार
आफ्ना ग्राहकहरूलाई आर्थिक कारोबारमा सहजता प्रदान गर्ने उद्देश्यले बुधबार नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले मास्टरकार्डसँग सहकार्य गरी मास्टर डेविट कार्डको उद्घाटन गरेको छ । एनआईबीएलको उद्घाटनपछि बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले मास्टरकार्डसँग सहकार्य गर्न पाएकामा खुसी लागेको बताउँदै आफ्ना सञ्जाल बैंकमार्फत मास्टरकार्डको सेवालाई नेपाली बजारमा विशेष रूपले विस्तार गर्नेमा विश्वास दिलाए ।
कार्यक्रममा मास्टरकार्डका दक्षिण एसियाली आर्थिक व्यवस्थापनका उपाध्यक्ष विकास बर्माले नेपालमा पछिल्लो समय विद्युतीय भुक्तानीमा देखिएको विकासक्रमको प्रशंसा गर्दै नेपाल इन्भेस्टमेन्ट बैंकसँगभएको मास्टरकार्डको सहकार्यले थप भूमिका खेल्नेमा आशावादी रहेको बताए ।
बैंकले आन्तरिक तथा बाह्य बजारलाई लक्षित गरी दुई प्रकारको कार्ड प्रयोगमा ल्याएको छ । स्थानीय आन्तरिककार्ड नेपाललगायत भारतमा समेत प्रयोग गर्न सकिन्छ भने अन्तर्राष्ट्रिय कार्ड विश्वभर प्रयोग गर्न सकिन्छ ।
नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड र मास्टरकार्डको सहकार्यमा उद्घाटनसँगै तीन महिनासम्म आफ्ना ग्राहकलाई बिना कुनै शुल्क कार्ड जारी गर्ने र साथै यस्तो मास्टरकार्डबाट कारोबार गरेबापत नगदफिर्ता भुक्तानी पनि उपलब्ध गराउने योजना बैंकले ल्याएकोछ ।