२५ बैशाख २०८३, शुक्रबार
कानून व्यवसायीहरू बहस छाडेर आन्दोलनमा उत्रिएका छन्।
ललितपुर जिल्ला अदालतमा कार्यरत कर्मचारीलाई कुटपिट गरेको आरोपमा कानुन व्यवसायीलाई पक्राउ गरिएको विरोधमा आज देशभर बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस छाडेर कानुन व्यवसायी आन्दोलनमा उत्रिएका हुन् ।


कानुन व्यवसायीहरुले ललितपुर बार एशोसिएसनको पहलमा जिल्ला अदालत ललितपुरमा विरोध सभा गरेका छन् ।
कानुन व्यवसायीहरुको छाता संगठन बारले पनि आजदेखि अर्को निर्णय नभएसम्मका लागि अदालती प्रक्रियामा सामेल नहुने र बहस–पैरवी नगर्ने निर्णय गरेको बताएको छ।
असार १३ गते जिल्ला अदालत ललितपुरमा नासु तामाङलाई काम गरिरहेको अवस्थामा अमिर लामिछानेले आक्रमण गरेको भन्दै विरोधस्वरुप देशभरका अदालतका कर्मचारीहरूले पनि आन्दोलनस्वरूप आइतवार ३ घण्टा काम नगरी विरोध जनाएका थिए । लामिछानेविरुद्ध नासु तामाङले घटना भएकै दिन जिल्ला अदालत ललितपुरमा अदालतको अवहेलनामा कारबाही गर्न माग गर्दै निवेदन दिएपछि अधिवक्ता लामिछानेलाई पक्राउ गरिएको थियो ।
यो विवाद बार र बेञ्च तहसम्म पुगेपछि प्रशासनले अधिवक्ता लामिछानेलाई आइतबार नै साधारण तारेखमा रिहा गरिसकेको छ।
तर पनि कानुन व्यवसायीले घटनाको छानबिन हुनु पर्ने, दोषिलाई कारबाही गर्नु पर्ने र लामिछानेमाथि लगाइएको झुटो मुद्दा फिर्ता हुनु पर्ने माग राखेर आन्दोलनमा उत्रेका छन्।
यसरी अदालत र कानुन व्यवसायीबीचको द्वन्द्वले अदालतको काम प्रभावित हुँदा सेवाग्राही मारमा परेका छन्।