९ जनालाई सात दिन थुनामा राख्न अदालतको अनुमति

होमल्याण्ड खबर

२०८० असार १९ गते, मंगलवार १७:०३ मा प्रकाशित

ललितानिवास जग्गा हिनामिना मुद्दामा पक्राउ परेका ९ जनालाई सात दिन थुनामा काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ ।

संगठित अपराधमा अनुसन्धान गर्न अदालतले नौ आरोपितलाई सात दिन थुनामा राख्ने अनुमति दिएको हो।

नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले सोमबार नेपाल समरजंग कम्पनीका पूर्वअधिकृत रमेशकुमार पोखरेल र नक्कली मोही देवनारायण महर्जनलाई काठमाडौंबाट पक्राउ गरेको थियो ।

सिआइबीले आइतबार काठमाडौं महानगरपालिका–४ का तत्कालीन वडा सचिव शिवजी भट्टराई, नापी कार्यालय डिल्लीबजारका तत्कालीन नापी सर्वेक्षक धमानकुमार कार्की र नक्कली मोही बाबुराज महर्जनलाई पक्राउ गरेको थियो।

केही दिनअघि भाटभटेनी सुपर मार्केटका सञ्चालक मिनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, सोही कार्यालयका कर्मचारी सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम, हुपेन्द्रमणि केसी र गोपाल कार्की पनि पक्राउ गरेको थियो । ती मध्य देउजा, कपाली र केसी सर्वोच्चको आदेश देखाएर तारेखमा छुटेका थिए ।

घटनामा संलग्नविरुद्ध प्रहरीले सरकारी छाप किर्ते र संगठित अपराधअन्तर्गत मुद्दा चलाउने तयारी गरिरहेको छ।