२ चैत्र २०८२, सोमबार
रामचन्द्र पौडेलले गत वैशाखमा भारतमा उपचार गराउँदा लागेको ५५ लाख दुई हजार दुई सय ७९ रुपैयाँ सरकारले व्यहोर्ने भएको छ ।
नेपालमै सम्भव हुने उपचारका लागि भारत गएर राज्यको ढुकुटीमाथि अनावश्यक आर्थिक भार थुपारेको भन्दै जनस्तरबाट आलोचना भएपछि १९ वैशाखमा राष्ट्रपति पौडेलको स्वकीय सचिवालयले विज्ञप्ति जारी गर्दै राष्ट्रपति आफैँले खर्च व्यहोर्न चाहेको जनाएको थियो । तर, १२ असारको मन्त्रिपरिषद् बैठकले उक्त खर्च सरकारले नै व्यहोर्ने निर्णय गर्दै प्रक्रिया सुरु गरिएको छ ।


मन्त्रिपरिषद्को निर्णयसँगै परराष्ट्र मन्त्रालयले अर्थ मन्त्रालयलाई उपचार खर्च निकासाका लागि पत्र पठाएको छ । परराष्ट्रका एक अधिकारीका अनुसार मंगलबार अर्थलाई पत्राचार गरिएको गरिएको छ । परराष्ट्रले सचिवस्तरीय निर्णय गरी अर्थलाई ताकेता गरेको हो ।
‘राष्ट्रपति रामचन्द्र पौडेलको भारतमा उपचार गर्दा लागेको ५५ लाख दुई हजार दुई सय ७९ रुपैयाँ खर्च सरकारले व्यहोर्ने १२ असारको मन्त्रिपरिषद्को निर्णयअनुसार मंगलबार सचिवस्तरीय निर्णय गरेर अर्थ मन्त्रालयलाई पत्राचार गरिएको हो,’ ती अधिकारीले भने ।
५ वैशाखमा श्वास–प्रश्वासमा समस्या देखिएपछि पौडेल त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका थिए । लगातार एन्टिबायोटिक चलाउँदा पनि प्रभावकारी नभएको भन्दै ६ वैशाखमा उनलाई भारतको नयाँदिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) लगिएको थियो । उपचार गरेर १७ वैशाखमा उनी फर्किएका थिए । उपचारका लागि एयर एम्बुलेन्सबाट भारत लैजाँदा तथा उपचारका क्रममा राष्ट्रलाई आर्थिक भार परेको भन्दै नागरिकस्तरबाट आलोचना भएपछि १९ वैशाखमा राष्ट्रपतिको स्वकीय सचिवालयले विज्ञप्ति जारी गरी राष्ट्रपतिले नै खर्च व्यहोर्न चाहेको जनाएको थियो ।
राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीको हस्ताक्षरित विज्ञप्तिमा भनिएको थियो, ‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूको स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा सुधार हुन नसकेपछि चिकित्सकहरूको सुझावअनुसार भारतको नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा उपचार भएको सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइहरूमा विदितै छ । उपचारका क्रममा भएको खर्च सम्माननीय राष्ट्रपतिज्यू स्वयंले व्यहोर्न चाहेको कुरा जानकारीका लागि अवगत गराइन्छ ।’