भाटभटेनीका सञ्चालक गुरुङसहितकाे रिटमाथि सुनुवाइ हुँदै

होमल्याण्ड खबर

२०८० असार २१ गते, बिहीबार ११:२१ मा प्रकाशित

बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेकाहरुद्वारा दायर बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइका पेसी तोकिएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को हिरासतमा रहेका भाटभटेनी सुपर मार्केटका सञ्चालक मिनबहादुर गुरुङ, सुधिरकुमार शाह  र धर्मप्रसाद गौतमले दायर गरेको रिटको सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासमा पेसी तोकिएको हो।

यसअघि उक्त रिट निवेदन मंगलबार न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको संयुक्त इजलासमा परे पनि ‘हेर्न नभ्याइने’ भन्दै अर्को दिनलाई सारिएको थियो ।

मंगलबार  सुनुवाइका लागि  सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको संयुक्त इजलासमा तोकिएको थियो ।

ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्न सरकारी कागजात किर्तेको अभियोगमा छानबिन गर्न प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूले आफूलाई हदम्याद कटिसकेको मुद्दामा पक्राउ गर्नु अवैध रहेको भन्दै हिरासतबाट मुक्त गर्न माग गरेका छन् । –

यसअघि गत शुक्रबार सोही रिट निवेदनमाथि न्यायाधीश डा. कुमार चुडालको एकल इजलासमा सुनुवाइ हुँदा कारण देखाऊ आदेश जारी भएको थियो ।