२ चैत्र २०८२, सोमबार
संघीय संसद् अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ।
गत बुधबार प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) कारण संघीय संसद्का दुवै सदनको बैठक स्थगित भएको थियो।


प्रधानमन्त्री पुष्पकमल दाहालको विवादास्पद अभिव्यक्तिलाई लिएर गत मंगलबारदेखि संसद् अवरुद्ध छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्रीको राजीनामालाई बटमलाइन बनाएर दुवै सदन चल्न दिएको छैन।
राष्ट्रिय सभाको बैठक आज बिहान ११ बजेर ३१ मिनेटमा बोलाइएको छ भने प्रतिनिधिसभाको बैठक १ बजेका लागि बोलाइएको संघीय संसद सचिवालयले जनाएको छ।
आजको प्रतिनिधिसभा बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल हुने सम्भावित कार्यसूची रहेको छ ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथिको दफावार छलफल, संशोधनलाई निर्णयार्थ प्रस्तुत तथा पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
त्यस्तै, आजकाे राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयकमाथि छलफल हुनेछ ।
आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय र खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय लगायतका मन्त्रालयका विभिन्न शिर्षकमाथि छलफल हुने सम्भावित कार्यसूची रहेको छ ।
यद्यपी आजका दुवै बैठक एमालेले चल्न नदिने अडान कायमै राखेकाे छ। एमालेका प्रमुख सचेतक पदम गिरिले प्रधानमन्त्रीको राजीनामा नआउन्जेल सदन कुनै पनि हालतमा पनि चल्न नदिने बताए।
आफ्नो अभिव्यक्तिका विषयमा संसद्मा स्पष्टीकरण दिन प्रधानमन्त्री तयार भए पनि एमालेले राजीनामा नै माग गरेको छ। एमाले आफ्नो एकपक्षीय अडानबाट पछि नहटेर लगातार संसद् अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच संवाद गराउन पहल गरिरहेका छन्। सत्ता गठबन्धन दलले प्रधानमन्त्रीले संसद्मा जवाफ दिनुपर्ने तर राजीनामा दिनु नपर्ने निष्कर्ष निकालिसकेको छ। त्यति गर्दा पनि एमालेले मानेको छैन।