२ चैत्र २०८२, सोमबार
सदनको अवरोध खुलाउने पहल स्वरुप प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल थालेका छन्।
सोहीअनुसार प्रधानमन्त्री प्रचण्डको पहलमा प्रमुख तीन दलका शीर्षनेताहरुको बैठक सिंहदरबारमा जारी रहेको छ।


प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीबीच अवरोध खुलाउने विषयमा छलफल भइरहेको हो।
आइतवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले संसदको अवरोध खुलाउन एमालेसँग छलफल गर्ने निर्णय गरे अनुसार संवादको पहल थालिएको छ।
प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको भनेर सार्वजनिक अभिव्यक्ति दिएपछि त्यसको विरोधमा एमालेले संघीय संसदका दुवै सदन अवरुद्ध गर्दै आएको छ ।
तर सदनको अवरोध खुलाउन पहल नगरेको आरोप प्रधानमन्त्रीमाथि लाग्दै आएको बेला उनले छलफल गर्न लागेका हुन् ।
एमालेले आज बसेको राष्ट्रिय सभाको बैठकमा पनि आफ्नो अडान कायम राख्दै अवरोध गरेपछि भोलि बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको छ।