सवारीको गति पछ्याउने यन्त्र जडान गरिँदै, थाहै नपाई कारबाहीमा पर्न सकिने

होमल्याण्ड खबर

२०८० असार २४ गते, आईतवार १४:१० मा प्रकाशित

ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानमा चालकले थाहा नै नपाउने गरी सवारीसाधनको गति रेकर्ड गर्ने यन्त्र जडान गर्न थालेको छ।

यससँगै तीव्र गतिमा सवारीसाधन चलाउने चालक जुनसुकै वेला ट्रफिक प्रहरीको फन्दामा पर्न सक्ने भएका छन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले तीव्र गति नियन्त्रण गर्न उपत्यकाका केही स्थानमा ‘अटोमेटिक नम्बर प्लेट रिकग्नेसन सिस्टम विथ स्पिड डिटेक्स’ अर्थात् गतिमापन गर्ने यन्त्र–उपकरण जडान सुरु गरेकाे छ । जुन उपकरणले तीव्र गतिमा हुइँकिरहेका सवारीसाधनलाई मात्रै पछ्याउँछ र त्यसको रेकर्ड उपत्यका ट्राफिक प्रहरी कन्ट्रोल रुमको ‘सिस्डक सेभ’मा जम्मा भएर बस्छ ।

त्यसका आधारमा तीव्र गतिमा सवारीसाधन हाँक्ने सवारीधनीलाई ट्राफिक प्रहरीले कारबाही गर्छ । ट्राफिक प्रहरी कार्यालयले पहिलो चरणमा यस्तो उपकरण कोटेश्वर, महालक्ष्मी, सानेपा र धोबीघाटको बीचमा जडान गर्दै छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टका अनुसार उक्त उपकरण नेपालका सडकमा पहिलोपटक जडान गर्न लागिएको हो ।

याे उपकरणले यसअघिकाे ‘लिडार गन’ मेसिनले भन्दा पनि उच्च तरीकाले गति नाप्न सक्दछ । ‘यो उपकरण सिसी क्यामराजस्तै हो, चालकले थाहा नपाउने गरी मेसिनले तीव्र गतिमा भएका सवारीसाधनलाई पछ्याउँछ र उनीहरूको रेकर्ड राख्छ,’ उनले भने, ‘पहिलोपटक उपत्यकाका तीन स्थानमा यो मेसिन राख्न लागिएको हो, यसअघि लिडार गन मेसिन जडान भइसकेको छ ।’ उनले तोकिएको गतिभन्दा बढी गति छ भने चालक कारबाहीमा पर्नेछन् । यो मेसिनले सवारीसाधनको फोटो र डिटेल रिड गर्छ । सो आधारमा कारबाही गर्न सहज हुन्छ ।

असारको अन्तिमसम्म ताेकिएका सबै ठाउँहरूमा उपकरण जडान भइसक्ने बताइएकाे छ  ।