२ चैत्र २०८२, सोमबार
संघीय संसद्का दुवै सदनमा रहेको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दल नेनकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सिंहदरबारमा छलफल हुँदैछ ।
प्रधानमन्त्री दाहालको अभिव्यक्तिलाई लिएर नेकपा एमालेले जारी राखेको संसदको अवरोध खुलाउने विषयमा तीन शीर्ष नेताबीच छलफल हुन लागेको हो ।


प्रधानमन्त्री दाहालका स्वकीय सचिव रमेश मल्लका अनुसार केही बेरमा छलफल सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु हुनेछ ।
यसअघि आइतबार भएको तीन नेताबीचको संसद खुलाउने सहमति केही बेरमै तोडिएपछि संसद् बैठक सूचना टाँसेर आज दिउँसो तीन बजेसम्मका लागि स्थगित भएको थियो । तीन नेताबीच प्रधानमन्त्रीले प्रतिनिधिसभामा सम्बोधन गर्ने र एमालेले संसदको अवरोध हटाउने सहमति भएको थियो । तर एमालेले पछि संसद खोल्न सहमति नरहेको भनेपछि प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित भएको थियो ।
१८ असारमा प्रधानमन्त्री दाहालले पुस्तक विमोचन समारोहमा भारतीय नागरिक प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन धेरै पटक दिल्ली गएको अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्रीको उक्त अभिव्यक्तिको विरोध गर्दै एमालेले राजीनामा माग गर्दै आएको छ ।