वेपत्ता पत्रकार खड्काको खोजी गर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

होमल्याण्ड खबर

२०७५ आश्विन २९ गते, सोमबार ०९:४६ मा प्रकाशित

भदौ ९ गते बाजुराको प्रसिद्ध धार्मिक क्षेत्र बुढीनन्दा मेलाबाट वेपत्ता पत्रकार तेजबहादुर खड्का “तेजु” को यथाशक्य खोजी गर्न माग गर्दै नेपाल प्रेस युनियन डोटीले प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र पठाएको छ ।

पत्रकार खड्का हराएको झण्डै २ महिना पूरा हुनै लाग्दा पनि हालसम्म कुनै पत्तो नलागेकाले जिल्ला प्रशासन कार्यालय डोटीमार्फत प्रेस युनियनले प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र पठाएको हो ।

बुढीनन्दा मेलाबाट फर्किने क्रममा सातपाखे भन्ने ठाउँबाट सम्पर्क्बिहिन भएका पत्रकार खड्का अहिलेसम्म वेपत्ता छन् । उनको स्थलगत खोजी गर्न धेरै प्रयास भए पनि पत्ता लगाउन नसकिएकाले अब हवाई मार्गबाट समेत खोजी कार्य गरिदिन ध्यानाकर्षण पत्रमार्फत प्रधानमन्त्रीलाई आग्रह गरिएको छ । खड्काको खोजीका लागि प्रयास गर्ने सबैलाई धन्यवाद दिदै उनको अवस्था पत्ता लगाउन उच्चस्तरको प्रयत्न आवश्यक रहेको युनियनको जोड दिएको छ ।

खड्का हराएको क्षेत्र हिमाली क्षेत्र भएको र त्यतिबेला मौषमी समस्या रहेकाले प्रभावकारी रुपमा उनको खोजी हुन नसकेको भन्दै अहिले मौसममा सुधार आईसकेकाले प्रभावकारी रुपमा खोजी कार्यलाई तिव्रता दिन आग्रह गरिएको छ ।
पत्रकार खड्काको अवस्था पत्ता लगाउन तालिम प्राप्त दक्ष टोली खटाई स्थलगत र हवाई गरी दुवै मार्गबाट खोजी कार्यका लागि ध्यानाकर्षण पत्रमार्फत आग्रह गरिएको छ । पे्रस युनियनका डोटी जिल्ला अध्यक्ष प्रकाश बमले डोटीका निमित्त प्रमुख जिल्ला अधिकारी लोकराज बोहरामार्फत प्रधानमन्त्रीलाई सो ध्यानाकर्षण पत्र पठाएका हुन् । ध्यानाकर्षण पत्र बुझ्दै बोहराले आफुले तत्काल फ्याक्स मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बुझाउने प्रतिवद्धता व्यक्त गरे ।

ध्यानाकर्षण पत्र सुदूरपश्चिम प्रदेश सरकार, नेपाल पत्रकार महासंघ केन्द्रीय समिति, महासंघ सुदूरपश्चिम प्रदेश समिति र नेपाल प्रेस युनियन केन्द्रीय समितिलाई समेत बोधार्थ दिईएको छ ।
प्रेस युनियन डोटी शाखाका संस्थापक अध्यक्ष समेत रहेका पत्रकार खड्का मेलाको रिपोटिङ्ग गर्ने क्रममा भाद्र ६ गते बुढीनन्दातर्फ लागेका थिए । मेलाबाट फर्कने क्रममा उनि सम्पर्र्किवहिन भएका हुन् ।

रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र दिपायलबाट पत्रकारिता शुरु गरेका खड्का हाल बाजुरा कोल्टीमा रहेको बुढीनन्दा एफएममा कार्यरत थिए ।
तेजबहादुरको तेजिलो आवाज र वाक कलाका प्रशंसकहरु धेरै रहेका छन् ।