२ चैत्र २०८२, सोमबार
नेपाली कांग्रेसका प्रदेश सभापतिहरूले संघीयताको वकालत गर्ने पार्टीले आफ्नै संगठनमा संघीयताको असल अभ्यास गर्न नसकेको आरोप लगाएका छन् ।
काठमाडौंमा जारी बैठकमा उनीहरूले पार्टीमा केन्द्रीय कार्यसमितिले सीधै जिल्ला र पालिका तहसँग काम गर्ने र शासन गर्ने काम गरेको बताएका हुन् । मुलुकमा संघीयता व्यवस्थाकै सवालमा प्रश्न उठिरहेका बेला पार्टीभित्रै संघीय संरचनालाई सर्वस्वीकार्य गरेर अघि बढ्न नसकेको उनीहरुको भनाइ छ ।


मंगलबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले मुलुकको संघीय व्यवस्थामै प्रश्न उठिरहेका बेला पार्टीमा त्यसको असल अभ्यास हुन नसकेको बताए । उनले भने, ‘अहिले संघीयताकै विषयमा प्रश्न उठिरहेको छ । त्यहीअनुसार पार्टीले प्रदेशलाई अधिकार र भूमिका दिन नचाहेको हो कि विश्वास नभएको हो ?’ उनले केन्द्रीय कार्यसमितिमा महामन्त्रीले प्रस्तुत गरेको एकवर्षे क्यालेण्डरमा समेत प्रदेश कार्यसमितिको भूमिकालाई समेटेर कुनै कार्यक्रमको प्रस्ताव नआएको बताए ।
यस्तै, गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले प्रदेश कार्यसमितिलाई नसोधीकन केन्द्रले जिल्ला सभापतिको भेला गरेको आरोप लगाए । उनले भने, ‘केन्द्रले सीधै जिल्ला कार्यसमितिसँग काम गरिरहेको छ । त्यस्तो कामको संयोजनमा प्रदेशलाई भूमिका दिइएको भए पनि हुने थियो, तर त्यो भएन । ७७ जिल्ला सभापतिलाई काठमाडौं बोलाइयो, तर प्रदेश सभापतिहरूलाई थाहै दिइएन ।’ केन्द्रबाट शासन गर्नुभन्दा संघीयताको मर्मबमोजिम प्रदेशलाई उसको भूमिका दिँदा पार्टी थप बलियो हुने उनको भनाइ थियो ।
उनले विधानतः प्रदेश सभापतिहरूलाई केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी गराउने विषयमा समेत विधानमा संशोधन गर्न माग गरे । शर्माले भने, ‘हामी प्रदेश सभापतिहरु केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी छौँ, तर हामीलाई सधैँ आमन्त्रित सदस्यको भूमिका मात्रै दिइएको छ । विधानतः हामीलाई यहाँ उपस्थित हुने बातावरण बनाइयोस् । प्रदेशलाई कमजोर बनाउँदा पार्टी पनि कमजोर हुन्छ ।’
बैठकमा मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादवले प्रदेशलाई भूमिका दिन नसक्ने भए प्रदेश संरचना हुनुको औचित्य माथि प्रश्न गरे । यादवले भने, ‘सात प्रदेशको संरचना किन बनाइएको हो ? यदि प्रदेशलाई जिम्मेवारी दिन नमिल्ने हो भने हामीलाई जिल्लामै बसेर काम गर्ने, संगठन गर्ने भूमिका नदिएको हो ? केन्द्रले जिल्लासँग काम गर्छ, जिल्लाले केन्द्रसँग सीधै काम गर्छ । हामी बीचमा छौँ, हामी न तल, न माथि भएका छौँ ।’
वाग्मती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले पार्टीले प्रदेशलाई भूमिका नदिएको गुनासो गरे । प्रदेशलाई अधिकार दिन नसकिने र चाहिँदैन भन्ने निष्कर्ष हो भने संघीयता खारेजीको नेतृत्वसमेत पार्टीले गर्न सक्नुपर्ने उनले बताए । उनले भने, ‘यदि प्रदेश आवश्यक छैन भने प्रदेश खारेजी गर्ने कामको नेतृत्व गरोस् । होइन भने कांग्रेसको विधानले गरेको व्यवस्थाबमोजिम प्रदेशलाई पनि भूमिका दिइयोस् । प्रदेश संरचनामाथि सबैतिर प्रश्न उठिरहेको छ । यसको समाधानको बाटो खोजियोस् ।’