सुन तस्करी प्रकरणमा एक चिनियाँ नागरिक विमानस्थलबाट पक्राउ

होमल्याण्ड खबर

२०८० श्रावण ४ गते, बिहीबार १६:५७ मा प्रकाशित

सुन तस्करी प्रकरणमा एक चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

एक सय किलो बढी सुन बरामद प्रकरणमा मुछिएका जिक्वान लिनलाई पक्राउ गरिएको हो । नेपाल छाडेर जाने तयारीमा रहेका उनलाई विमानस्थलबाट अध्यागमन विभागले नियन्त्रणमा लिएर राजश्व अनुसन्धान विभागलाई बुझाएको हो । उनी तिब्बेत एयरमार्फत चीन जान लागेका थिए ।

क्याथे फ्यासिफिकको उडानमार्फत हङकङबाट स्कुटर र मोटरसाइकल ‘ब्रेक सु’मा लुकाएर ल्याइएको उक्त परिणामकाे सुन बुधबार अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट पार गरेर सिनामंगल सडकसम्म पुर्‍याइएपछि बरामद भएको थियो । राजस्व अनुसन्धान विभागको टोलीले उक्त सुन बरामद गरेको हो ।