पुष्पलालले स्थापना गरेको नेकपा अहिलेको एमाले हो: महासचिव पोखरेल

होमल्याण्ड खबर

२०८० श्रावण ७ गते, आईतवार १२:२१ मा प्रकाशित

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पुष्पलाल श्रेष्ठले स्थापना गरेको नेकपा, अहिले एमालेको रुपमा जनतामाझ लोकप्रिय रुपमा स्थापित भएको दाबी गरेका छन्। नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४५ औं स्मृति दिवसका अवसरमा आइतबार रामेछापको भंगेरीमा एमालेद्वारा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै पोखरेलले पुष्पलालले कम्युनिष्ट पार्टीमा गरेको योगदानको चर्चा गरे।

उनले विश्व प्रसिद्ध ‘कम्युनिष्ट घोषणापत्र’ का प्रथम नेपाली भाषामा अनुवादक गरेर नेपाली जनतामाझ पुष्पलालले ऐतिहासिक कार्य गरेको समेत उल्लेख गरे। एमाले जनताको विकासको आकांक्षा र परिवर्तनलाई नेतृत्व गर्ने सामार्थ्य राख्ने पार्टी भएको बताउँदै पोखरेलले सरकारको नेतृत्व गरेको बेला जनतामाझ देखाउन सफल भएकोसमेत दाबी गरे। उनले एमाले नेपालमा मात्र नभई विश्वस्तरीय कम्युनिष्टको लोकप्रिय आन्दोलनको रुपमा एमाले स्थापित भएको धारणा राखे।

महासचिव पोखरेलले जनताको विकास र समृद्धिको पक्षमा लागिरहेको एमालेलाई घेराबन्दी गर्ने काम भइरहेको बताए। ‘क. पुष्पलालले स्थापना गरेको पार्टी राष्ट्रिय स्वाधिनता र राष्ट्रिय हितका पक्षमा अडान लिन्छ।’ उनले भने,‘ तर, नेपालमा कम्युनिष्ट पार्टी नामका अन्य पार्टीहरु राष्ट्रिय हित र स्वाधीनता सवालमा आत्मसमर्पणवाद अबलम्बन गर्दै अगाडि बढिरहेको तपाईंहरुलाई थाहै छ, कहिले कम्फरटेबल छु भनिरहेका छन्, आत्मसमर्पण गरिरहेका छन्।’