ललिता निवास प्रकरण : थप एक नापीका पूर्व कर्मचारी पक्राउ

होमल्याण्ड खबर

२०८० श्रावण ७ गते, आईतवार १३:०६ मा प्रकाशित

काठमाडौंको बालुवाटारस्थित ललिता निवास प्रकरणमा  प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आइतबार थप एक जनालाई पक्राउ गरेको जनाएकाे हाे ।

पक्राउ पर्नेमा तत्कालीन नापीका कर्मचारी अरूणकुमार श्रेष्ठ छन्। उनलाई प्रहरीले जोरपाटीस्थित घरबाट पक्राउ गरेको हो।

एसएसपी आचार्यका अनुसार सरकारी जग्गा व्यक्तिको नाममा गर्नमा उनले पनि भूमिका खेलेका थिए।

योसँगै यस प्रकरणमा पक्राउ परेका १९ जना सिआइबीको हिरासतमा छन्।

यसअघि शुक्रबार सर्वोच्च अदालतले सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई छाड्न आदेश दिएको थियो। अहिले उनलाई हिरासतमा नराखी नै अनुसन्धान भइरहेको हो।

राउतले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए।

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह र धर्मप्रसाद गौतमले पनि उक्त रिट दायर गरेका थिए। तर उनीहरूलाई सर्वोच्चले थुनामुक्त गरेको थिएन।

प्रहरीले समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे, समरजंग कम्पनीका तत्कालीन प्रमुख रमेशकुमार पोखरेल, नक्कली मोही देवनारायण महर्जन, तत्कालीन नापी अधिकृत ध्रुव अर्याल र गोपाल कार्कीलाई पक्राउ गरेको छ।