बुटवलमा निर्माण व्यवसायीमाथि खुकुरी प्रहार

होमल्याण्ड खबर

२०८० श्रावण ८ गते, सोमबार ११:३६ मा प्रकाशित

बुटवलको कालिकापथमा एक निर्माण व्यावसायीमाथि खुकुरी प्रहार भएको छ ।

बुटवल ११ कालिकापथको होराइजन चोक नजिकै खुकुरी तथा ढुंगा मुढा प्रहारबाट युवा निर्माण व्यवसायी निर्मल खत्री घाइते भएका हुन् । घाइतेको उनको टाउकोमा ६० वटा टाँका लगाइएको छ।

दिनदहाडै युवामाथि खुकुरी प्रहार भएपछि स्थानीय त्रसित भएका छन् । प्रहरीले केही युवालाई पक्राउ गरे पनि सबै पक्राउ परेका छैनन् ।

कालिकापथमा बुटवल उपमहानगरपालिकाले रात्रिकालीन व्यवसाय सञ्चालन गर्ने बताइरहेको छ। अहिले पनि कालिकापथमा खासगरी रात्रिकालीन व्यवसाय जम्ने गर्दछ। तर दिउँसै युवामाथि सडकमा खुलमखुला खुकुरी प्रहार भएपछि सुरक्षा व्यवस्थामा प्रश्न उठेको छ।

सामान्य विवादले उग्र रूप लिएपछि खत्रीमाथि ३ युवा जाइलागेका थिए। इलाका प्रहरी कार्यालयका अनुसार खत्रीलाई आक्रमण गरेको आरोपमा फलफूल व्यवसायी अब्दुल कादिर, कृष्ण केसी र गणेश भन्ने लोकबहादुर कुँवरलाई नियन्त्रणमा लिइएको छ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले खत्रीमाथि आक्रमण गर्ने अन्य घटनापछि फरार रहेका र उनीहरूको खोजी भइरहेको बताए।

पक्राउ परेकाहरूलाई शरीर अंगभंगको अभियोगमा मुद्दा दायर गरिएको थापाले बताए।