विद्यालय व्यवस्थापन समिति भंग गर्ने महानगरको निर्णय प्रति नेपानको आपत्ति

होमल्याण्ड खबर

२०८० श्रावण १२ गते, शुक्रबार १३:२१ मा प्रकाशित

काठमाडौं महानगरपालिकाको नगरसभाले महानगरभित्रका सबै सामुदायिक विद्यालयको ‘विद्यालय व्यवस्थापन समिति’ भंग गरी वडाअध्यक्षलाई जिम्मेवारी दिने निर्णय प्रति नेपाल सहभागितामूलक कार्य समूह नेपानले आपत्ति जनाएको छ ।

विद्यालय शिक्षाको गुणस्तरवृद्धिमा अभिभावक, शिक्षक, विद्यार्थीको भूमिका नै पहिलो आवश्यकता हो । यही आवश्यकतालाई आत्मसात गर्दै विगत देखि विद्यालय व्यवस्थापन समितिको नेतृत्व अभिभावक मध्येबाट नै गर्ने कानुनी व्यवस्था गरिनुको साथै त्यही अनुसार अभ्यास पनि गरिएको हो । यसले विद्यालयप्रति समुदाय र अभिभावकको अपनत्व बढेको पनि अध्ययनहरुले देखाएको भन्दै सो निर्णयमा आफुहरुको असहमति रहेको नेपानका सदस्य भोला भट्टराईले बताए ।

उक्त निर्णय तत्काल खारेज गर्न र विद्यालय व्यवस्थापन समितिलाई सहभागितामूलक र उत्तरदायी बनाउने तर्फ आवश्यक सहजीकरण गर्न काठमाडौं महानगरपालिकासंग नेपाल सहभागितामूलक कार्य समूह नेपानले अनुरोध समेत गरेको छ ।