ललिता निवास प्रकरण : जग्गा फिर्ताको सर्तमा छुटे पक्राउ परेका २ जना

होमल्याण्ड खबर

२०८० श्रावण १८ गते, बिहीबार १६:०० मा प्रकाशित

बालुवाटारस्थित ललिता निवासको प्रकरणमा पक्राउ परेका २ अभियुक्त जग्गा फिर्ताको सर्तमा रिहा भएका छन्।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेका सिद्धिका खेतान र रमेशकुमार पोखरेललाई हाजिरी जमानीमा रिहा गरेको हो।

ललितानिवास क्याम्पभित्रको जग्गा आफ्नो नाममा दर्ता गर्न सफल भएकी खेतान र समरजंग कम्पनीका तत्कालीन प्रमुख रमेशकुमार पोखरेललाई सीआईबीले हिजो बुधबार रिहा गरेको हो।

ललिता निवासको ७ आना ३ पैसा जग्गा आफ्नो नाममा ल्याएकी सिद्धिकाले जग्गा फिर्ता गराउने भएपछि रिहा गरिएको सीआईबीका एसएसपी दिनेश आचार्यले जानकारी दिए।

जग्गा सरकारको नाममा फिर्ता गर्ने भन्दै मालपोत कार्यालय, गृह मन्त्रालय, केन्द्रीय अनुसन्धान ब्यूरो लगायतमा निवेदन दिएपछि सरकारी वकिल कार्यालय काठमाडौंको रोहबरमा उनलाई हाजिरीजमानीमा छाडिएको हो। समरजंग कम्पनीका तत्कालीन प्रमुख पोखरेल पनि हाजिरीमा छुटेका छन्।

उनको हकमा भने अदालतले म्याद नदिएको पाइएको छ। बुधबार म्याद थपका लागि अदालतमा उपस्थित गराइएकोमा अन्यको हकमा म्याद थप भए पनि पोखरेलको हकमा अदालत म्याद थप नगरेपछि उनी रिहा भएको सीआईबीले जनाएको छ।

जग्गा फिर्ताको शर्तमा खेतान छुटेसँगै एमाले उपाध्यक्ष विष्णु पौडेलका छोरा नवीनसम्म अनुसन्धान नपुग्ने देखिएको हो। यसअघि नै नवीनले आफ्नो नाममा रहेको जग्गा सरकारलाई फिर्ता गराउने बताएपछि अख्तियारले उनलाई उन्मुक्ति लिएर बाँकीलाई मात्रै मुद्दा दायर गरेको थियो।