२४ बैशाख २०८३, बिहीबार
पछिल्लो समय आँखा पाक्ने रोग धेरै फैलिएकाले बिरामी संख्या बढ्न थालेको छ । वर्षायाम सुरू भएसँगै यो रोग अहिले देशैभर महामारीजस्तै फैलिएको छ । पछिल्लो एक महिनायता भने संक्रमित बढेको तर आत्तिहाल्नुपर्ने र त्रसित हुनुपर्ने अवस्था भने नभएको नेत्ररोग विशेषज्ञहरुको भनाई छ । यस वर्षको मनसुनको समय सुरु भएसंगै आँखामा आउने समस्याका रोगीहरु थपिन थालेका छन् ।
विगतका वर्षहरुमा पनि मासुनकै समयमा मानिसहरुको आँखामा समस्या आउने गरेको तर यस वर्ष भने विगतको वर्षहरुमा भन्दा बढी संक्रमितको संख्या बढेको नेत्र रोग विशेषज्ञ बताउँछन् । चिकित्सकका अनुसार संक्रमण भइसकेपछि सुरूमा आँखा बिझाउने, चिलाउने, चिप्रा टाँसिने, आँखा रातो हुने, आँशु बग्ने, घाममा हिँड्न गाह्रो हुने लगायत लक्षण देखा पर्ने गर्दछ । पछिल्लो समय तिलगंगा आँखा प्रतिष्ठानमा पनि आँखाको संक्रमित रोगीहरुको संख्या बढ्द नेत्र रोग विशेषज्ञ डाक्टर रवा थापा बताउँछिन् ।


आखाँमा पाक्ने लगाएतका कतिपय आँखाका रोगहरु एउटा आँखाबाट अर्को आँखामा वा परिवारकै सदस्यहरूमाझ पनि सर्ने भएकोले सतर्क रहनुपर्ने चिकित्सिकहरुको भनाई छ । यसबाट बच्नको लागि बिहान र बेलुकी सफा पानीले आँखा पखाल्ने र वरफले सेक्ने र यति गर्दा पनि निको नभएको अवस्थामा चिकित्सकको सल्लाहअनुसार उपचार गर्नुपर्ने उनीहरुको सुझाव छ ।
वर्षायाममा यस्ता समस्या देखिने गरेको भएपनि अहिले भने आँखा रातो हुने र हेर्न समेत नमिल्ने समस्या अधिकांशले भोगिरहेका छन् । एक व्यक्तीबाट अर्कोमा समेत सर्नसक्ने सम्भावना हुने भएकाले सतर्क हुनुपर्ने विज्ञहरुको भनाई छ ।