चौतर्फी दबाबपछि सिआइबीलाई दिइयो सुन तस्करी अनुसन्धानको जिम्मा

होमल्याण्ड खबर

२०८० श्रावण १९ गते, शुक्रबार १२:४८ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहालले क्विन्टल सुन तस्करीको अनुसन्धान प्रहरीबाट गर्न निर्देशन दिएका छन् । यही ३ साउनमा राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँच पास भएर पास भएर सिनामंगल पुर्‍याइएको एक क्विन्टल सुन बरामद गरेको थियो । त्यो पनि विभागले विशेष सूचनाका आधारमा चलाएको अपरेसनका क्रममा सो परिमाणमा सुन बरामद गरेको थियो । सुन बरामद भएको १६ दिन पछि बल्ल प्रधानमन्त्री दाहालले अनुसन्धान प्रहरीबाट गर्न निर्देशन दिएका हुन् ।

सुन तस्करी प्रकरण संगठित अपराध र अन्तर्देशीय अपराध भएकोले त्यसको जरैसम्म पुग्ने गरी प्रहरीमार्फत अनुसन्धान गर्न प्रधानमन्त्री दाहालले निर्देशन दिएका छन् । क्विन्टल सुन प्रकरणमा हाल राजस्व अनुसन्धान विभागमार्फत अनुसन्धान भइरहेको छ । विभागले सुन तस्करी प्रकरणमा पाँच दिनपछि प्रहरीको सहयोग मागेपछि प्रहरी प्रधान कार्यालय, नक्सालले एसपी कृष्ण पंगेनीलाई पठाएको छ । हालसम्म अनुसन्धानमा एक जना प्रहरी मात्र समावेश छन् ।

यो प्रकरणमा हालसम्म १८ जना पक्राउ परिसकेका छन् भने सुन तस्करीका लागि प्रयोग भएका घर र गोदाममा पनि राजस्व अनुसन्धानले छापा मारिरहेको छ ।
हङकङबाट जहाजमा कार्गो गरी स्कुटरका ब्रेक सु भित्र लुकाएर ल्याइएको तस्करीको क्विन्टल सुन गत साउन २ मा विमानस्थल भन्सार जाँच पास पार गरेर सिनामंगल सडकमा पुगेपछि बरामद गरिएको थियो ।