१९ बैशाख २०८३, शनिबार
आज (आइतबार)देखि सर्वाेच्च अदालतकाे नेतृत्व कामु प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सम्हाल्ने भएका छन्।
यसअघि प्रधानन्यायाधीश रहेका हरिकृष्ण कार्की ६५ वर्षे उमेहदका कारण साउन २० गते (शनिबार)देखि अनिवार्य अवकाशमा गएका छन्।


कार्की अवकाशमा गएपछि वरिष्ठतम् न्यायाधीश श्रेष्ठले कामु प्रधानन्यायाधीशको रुपमा स्वत: न्यायपालिकाको नेतृत्व पाएका हुन्।
नेपालको ३१औं प्रधानन्यायाधीशमा नियुक्तिका लागि श्रेष्ठको नै नाम सिफारिस भएको छ। यद्यपि संवैधानिक परिषद्ले गरेको ढिलाइका कारण उनले केही समय कामु प्रधानन्यायाधीशको रुपमा न्यायपालिकाको नेतृत्व सम्हाल्नुपर्ने भएको छ।
संवैधानिक परिषद्ले संवैधानिक व्यवस्था कार्यान्वयन गरेको भए श्रेष्ठ आइतबारदेखि नै प्रधानन्यायाधीशको जिम्मेवारीमा हुने थिए। प्रधानन्यायाधीशको पद रिक्त हुनुभन्दा १ महिना अघि नै सिफारिस हुनुपर्ने संवैधानिक व्यवस्था छ। परिषद्ले समयमा सिफारिसको निर्णय नगर्दा अबको केही साता न्यायपालिका फेरि पनि कामुको नेतृत्वमा चल्ने छ।
बिहीवार बसेको संवैधानिक परिषद् बैठकले प्रधानन्यायाधीशमा श्रेष्ठको नाम सिफारिस गर्दै सुनुवाइका लागि संसदीय सुनुवाइ विशेष समितिमा पठाएको थियो । संसदीय सुनुवाइ समितिले अनुमोदन गरेमा राष्ट्रपतिले श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्त गर्नेछन् ।