१ चैत्र २०८२, आईतवार
नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले नेकपा एमालेमा विद्रोह गरेर निस्किनुको औचित्य आजसम्म पुष्टि हुन नसकेको बताएका छन्।
जारी स्थायी कमिटी बैठकमा खनालले पार्टीभित्र हिजोको जस्तो उमंग नरहेको बताएका हुन्।


शनिबारबाट सुरु भएको पार्टीको स्थायी कमिटी बैठकमा १६ पेज लामो लिखित ‘वर्तमान परिस्थिति र हामीले ध्यान दिनुपर्ने ज्वलन्त विषयहरू’ दस्ताबेज पेस गर्दै पुर्वप्रधानमन्त्री समेत रहेका खनालले भनेका छन्, ‘आखिर हाम्रो पार्टी दक्षिणपन्थी र माओवादीको पिछलग्गु जस्तो भएर अघि बढ्यो ।’ साथै उनले नेपाली कांग्रेस र माओवादी दुवैले आफ्नो पार्टीलाई देशैभर धोखा दिएको पनि बताएका छन् ।
‘अहिले विद्रोह भएको २ वर्ष पुग्दा पनि पार्टी व्यापी रुपमा विद्रोहको औचित्य सावित भएन भन्ने असन्तुष्टी रहि रहेको देखिन्छ। हामीले दक्षिणपन्थी अवसरवादका विरुद्ध, गुटवादका विरुद्ध,व्यक्तिवादका विरुद्ध विद्रोह गरेको भन्यौ,’ उनले भने, ‘तर त्यो विद्रोहका राजनीतिक–सैद्धान्तिक, वैचारिक, दार्शनिक, सांगठनिक, सांस्कृतिक, विधिगत सबै पक्षमा अहिले सम्म पुष्टि गर्ने काम भएको छैन। त्यस्ता कुनै दस्तावेजहरू नेतृत्वबाट तयार हुन सबै पक्षमा सकेनन्। यो काम नेतृत्वबाहेक अन्तबाट हुन सक्ने काम पनि होइन।’
पार्टीका उत्साहित विद्यार्थीले समेत दिशाहीन महसुस गरिरहेको उनको बुझाइ छ। ‘विद्रोह गरेको बेला युवा र विद्यार्थीहरूमा जुन उत्साह, जाँगर र अठोट थियो, आज यी क्षेत्रमा त्यो देखिँदैन। उनीहरू दिशाहीनजस्तो महसुस गरिरहेछन्। तर, अझै पनि उनीहरू पार्टीले सही नीति ल्याउँछ कि भनेर पर्खिरहेका छन्,’ उनले बैठकमा प्रस्तुत गरेको लिखित धारणामा उल्लेख छ।
उनले गएको स्थानीय तह निर्वाचनको समीक्षामा पार्टी नेकपा (माओवादी केन्द्र)को पिछलग्गुजसरी अघि बढेको आरोप पनि लगाएका छन्। ‘आखिर हाम्रो पार्टी दक्षिणपन्थी र माओवादीको पिछलग्गुजस्तो भएर अघि बढ्यो,’ उनले भनेका छन्, ‘नेपाली कांग्रेस र माओवादी दुवैले हाम्रो पार्टीलाई देशैभरि धोखा दिए । हाम्रो पार्टीलाई मतदाता मात्र बनाए । त्यसले हाम्रो पार्टीको बन्दै गरेको क्रान्तिकारी छवि र साख नराम्ररी गिराइदियो।’
स्थानीय निर्वाचनमा नेपाली कांग्रेस र माओवादीले धोका दिँदा कार्यकर्ताहरू निराश भएर एमालेतिरै फर्कने चिन्ता बढेको पनि उनले उल्लेख गरेका छन्।