१ चैत्र २०८२, आईतवार
सरकारले गौर हत्याकाण्डको छानबिन गर्ने भएपछि जनता समाजवादी पार्टी नेपालले आकस्मिक रुपमा कार्यकारिणी समितिको बैठक बोलाएको छ ।
पार्टी केन्द्रिय कार्यालय, बालकुमारी ललितपुरमामा आकस्मिक रुपमा बैठक बोलाइएको हाे ।


कार्यकारिणी समितिको बैठकमा गौर हत्याकाण्ड छानबिन गर्न पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले समिति बनाउन लागेकाे बिषयमा छलफल हुने जनाइएकाे छ। बैठक ११ : ३० मा बस्ने गरी बाेलाइएकाे हाे।
‘प्रधानमन्त्रीले गौर हत्याकाण्डका बारेमा छानबिन समिति बनाउन सहमति जनाएपछि त्यसबाट उत्पन्न परिस्थीतिका बारेमा आजको बैठकमा छलफल हुनेछ, सो छलफल पछि पार्टीले आफनो धारणा सार्वजनिक गर्नेछ’ एक नेताले भने । हिजो सरकार र गौर हत्याकाण्ड पीडित संघर्ष समितिबीच सहमति भएको थियो ।
उक्त सहमति अनुसार पार्टी अध्यक्ष उपेन्द्र यादवलाई फसाउँनका लागि सरकारले समिति बनाउन लागेको बुझाई जसपा, नेपालको रहेको छ। उक्त हत्याकाण्ड छानबिनविरुद्ध जसपाले घटनास्थल र गौर लक्षित आन्दोलनको कार्यक्रम गर्न सक्ने उनले जनाएका छन् ।
सरकारको सो सहमतिलाई लिएर अध्यक्ष यादवले सत्तारुढ गठबन्धनका प्रमुख दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि छलफल गरिसकेका छन् । स्रोतका अनुसार ‘आफुलाई फसाउँनका लागि’ उक्त समिति बनाउन लागेको यादवले सभापति देउवासमक्ष गुनासोसम्म राखिसकेका छन् ।
उनले सो बिषयलाई लिएर हिजो आफ्ना पार्टीका शिर्ष नेता र सांसदहरुसँग पनि छलफल गरेका थिए ।