शीर्ष नेताकाे बैठक निष्कर्षविहीन, एमालेले आज पनि सदन चल्न नदिने

होमल्याण्ड खबर

२०८० श्रावण २४ गते, बुधबार १२:५८ मा प्रकाशित

शीर्ष तीन दलका नेताहरूबीच बालुवाटारमा बसेको बैठक बिनानिष्कर्ष टुंगिएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा उनीहरूबीच सदन खुलाउने विषयमा सहमति जुट्न नसकेको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको छलफल बिना निष्कर्ष टुंगिएको एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले जानकारी दिए। उनले सरकारले सुन प्रकरणमा उच्च स्तरीय छानबिन समिति गठन गर्न सरकार तयार नभएको बताए।

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। उनले आज पनि आफूहरूले सदनमा आफ्ना विषय राख्ने र सरकारले समिति गठन नगरेसम्म अवरोध कायमै राख्ने बताए।

एमालेले साउन १० गतेबाट सदन चल्न दिएको छैन। एक क्विन्टल सुन प्रकरणमा सत्ता पक्षका नेता र मन्त्रीहरू नै जोडिएकाले छानबिनका लागि समिति गठन गर्न माग गर्दै एमालेले दुई हप्तादेखि सदन चल्न दिएको छैन।