५ मंसिर २०८१, बुधबार
प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समिति बैठक प्रमुख प्रतिपक्ष नेकपा एमालेले बहिस्कार गरेको छ । समिति सभापति चयन गर्न माग गर्दै एमालेले आज १ बजेका लागि बोलाइएको बैठक बहिष्कार गरेको हो ।
एमालेले समितिको यसअघिको बैठकमा नै सभापति चयन नभएसम्म बैठकमा नआउने जानकारी गराएको थियो । समितिको अध्यक्षता ज्येष्ठ सदस्य कांग्रेस सांसद अर्जुननरसिंह केसीले गरिरहेका छन् । एमाले सचिव तथा लेखा समिति सदस्य योगेश भट्टराईले सभापति चयन नभएसम्मका लागि बहिष्कार गर्ने घोषणा गरेका थिए ।
समिति सदस्य गोकुल बाँस्कोटाले समिति सभापति नआएसम्म लेखा समितिमा उपस्थित नहुने यसअघि नै घोषणा गरेकोले बैठकमा नगएको बताए । सभापति चयनका लागि दबाब दिन र समिति बैठक प्रक्रियामा सञ्चालन गर्नका लागि दबाब दिन बैठकमा उपस्थित नभएको बास्कोटाले बताए ।
एमालेलाई समिति सभापति नदिने भए घोषणा गरेर भए पनि चयन गरे हुने तर सभापति चयन गरेर मात्रै संसदीय समितिहरू अगाडि बढाउनुपर्ने बास्कोटाको भनाइ छ ।
बैठक सुरु हुनका लागि २६ सदस्यमध्ये १४ जना उपस्थित हुनैपर्छ । समिति सभापति चयन नभएसम्म लेखा समिति बहिष्कार गर्ने जानकारी एमालेका सांसद भट्टराईले सभामुख देवराज घिमिरेलाई दिएका थिए ।
गत वेशाख १५ मा संसदीय समिति गठन भए पनि सभापति चयन हुन सकेको छैन ।