चीन भ्रमणका उर्जा सम्बन्धी महत्त्वपूर्ण सम्झौता हुन्छ : प्रधानमन्त्री

होमल्याण्ड खबर

२०८० भाद्र १ गते, शुक्रबार १३:०५ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी महिना हुने आफ्नो चीन भ्रमणका क्रममा उर्जा क्षेत्रमा दूरगामी र महत्वपूर्ण सम्झौता हुने बताएका छन्।

नेपाल विद्युत प्राधिकरणको ३८औं वार्षिक उत्सव कार्यक्रममा सम्बाेधन गर्दै प्रधानमन्त्रीले  नेपालको विद्युत निर्यातलाई १० वर्षमा १० हजार मेगावाटसम्म पुर्‍याउने गरी भारतसँग प्रारम्भिक हस्ताक्षर भइसकेको र अर्को छिमेकी चीनसँग पनि उर्जा क्षेत्रमा महत्वपूर्ण सम्झौता हुने बताएका हुन् ।

‘यसै वर्षायामभित्र नेपाल–बंगलादेश विद्युत व्यापार सुरू हुने गरी नेपाल, भारत र बंगलादेशका सम्बन्धित निकायहरूबीच सम्झौता हस्ताक्षरको अन्तिम तयारी भइरहेको छ र अन्तरदेशीय प्रसारण संरचनाको निर्माणमा त्रिपक्षीय समझदारी जुटाई उल्लेख्य परिमाणमा नेपाल–बंगलादेश विद्युत व्यापारलाई भविष्यमा क्रमशः बढावा दिँदै लैजाने परिस्थिति बनेको छ,’प्रधानमन्त्रीले भने, ‘हामी अर्को छिमेकी मित्रराष्ट्र चीनसँग पनि चिलिमे–केरुङ २२० के.भी. प्रसारण लाइन निर्माणमार्फत जोडिन सोसँग सम्बन्धित अध्ययन कार्य पूरा गरी कार्यान्वयन तहमा प्रवेश गर्ने योजनाका साथ अघि बढेका छौँ । मेरो आगामी महिनामा हुने चीन भ्रमणमा उर्जा क्षेत्रका सम्बन्धमा दूरगामी र महत्वपूर्ण सम्झौता हुने विश्वास लिएको छु ।’

हाल करिब ४५० मेगावाट विद्युत निर्यात भइरहेको अवस्थाबाट नेपालको विद्युत निर्यातलाई १० वर्षमा १० हजार मेगावाटसम्म पुर्‍याउने गरी द्विपक्षीय सम्झौतामा नेपाल र भारतबीच प्रारम्भिक हस्ताक्षर भइसकेको सन्दर्भलाई दक्षिण एसियामै विद्युत व्यापारको क्षेत्रमा उल्लेखनीय पहलकदमीका रूपमा हेरिएको उनको भनाइ छ ।

यसबाट नेपालमा जलविद्युत लगानीको थप उपयुक्त वातावरण निर्माण भएको र दीर्घकालिन विद्युत व्यापारका लागि स्वदेशी तथा अन्तरदेशीय प्रसारण संरचनाको तयारी पूरा गर्न एवं विश्वसनीय कार्ययोजना तर्जुमा गर्न हौसलाका साथ सम्बन्धित मन्त्रालय र सबै सरोकारवाला निकायहरूको समन्वयपूर्ण योगदान आवश्यक रहेको प्रधानमन्त्रीको भनाइ छ ।