प्रदेश सभामुख त्यागेका बाबुरामलाई माओवादीले बनायो केन्द्रीय सदस्य

होमल्याण्ड खबर

२०८० भाद्र १ गते, शुक्रबार १४:२८ मा प्रकाशित

सत्तारुढ दल नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटीमा दुईजना सदस्य थप गरेको छ । माओवादीले बाबुराम गौतम र अशोककुमार मण्डललाई पूर्ण केन्द्रीय सदस्यमा मनोनीत गरेको हो ।

केन्द्रीय सदस्यमा मनोनीत गौतम कोशी प्रदेशका निवर्तमान सभामुख हुन् । उनले मुख्यमन्त्री उद्धव थापालाई बहुमत पुर्याउन सभामुख पदबाट राजीनामा दिएका थिए । हाल उनी कोशी प्रदेश सरकारमा आर्थिक मामिला तथा योजनामन्त्री रहेका छन् ।

गौतमले कोशी प्रदेश सभामुखबाट राजीनामा दिएसँगै माओवादीले केन्द्रीय सदस्य बनाएको हो ।

यससँगै माओवादी केन्द्रीय सदस्य संख्या ४११ पुगेको छ । गत साउन १७ देखि २१ सम्म बसेको केन्द्रीय समिति बैठकमा विधान संशोधनपछि पार्टीले २४ जना केन्द्रीय सदस्य थप गरेको थियो ।

माओवादीले यससम्बन्धी जानकारी गराउँदै मातहतका कमिटीलाई सर्कुलर समेत पठाइसकेको बताइएको छ ।