कोशीका मुख्यमन्त्रीविरुद्धको रिट न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा

होमल्याण्ड खबर

२०८० भाद्र ७ गते, बिहीबार ११:०१ मा प्रकाशित

काठमाडौं। कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले गैर संवैधानिक तरिकाले विश्वासको मत लिएको भन्दै नेकपा एमालेले दायर गरेको रिटमा आज सुनवाइ हुँदै छ।

सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा उक्त रिट सुनुवाइका लागि पेशी तोकिएको हो ।

सभाध्यक्षको मतसहित विश्वासको मत लिएको भन्दै थापा नेतृत्वको सरकार बर्खास्त गर्न माग गरेर एमालेले रिट दायर गरेको थियो।

कोशी सरकारका पूर्व मुख्यमन्त्री समेत रहेका नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिटमा सर्च्वोच्च अदालतले आज नै सुनुवाइ गर्ने गरी पेशी तोकेको छ ।

प्रदेश सभाका सभाध्यक्षले समेत मतदान गरी विश्वासको मत लिनु संविधान र सर्वोच्च अदालतको आदेश विपरीतको कार्य भएको भन्दै एमाले कोशी प्रदेशसभा संसदीय दलका नेता कार्कीले परमादेशको माग गर्दै बुधवार सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए ।

कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाले संविधान विपरीत र प्रचलित कानुन विपरीत विश्वासको मत लिने बेला सभाध्यक्ष रहेका इस्राइल मन्सुरीलाई मतदान गराएको एमालेको जिकिर छ। यसरी प्राप्त गरेको विश्वासको मत गैर संवैधानिक भन्दै एमाले सर्वोच्च पुगेको हो ।

यसअघि पनि सभामुखको मतसमेत जोडर थापा मुख्यमन्त्री भए पछि एमाले सर्वोच्च पुगेको थियो। सो निर्णयलाई सर्वोच्चले खारेज गरिदिए पछि थापाले सभामुख बाबुराम गौतमलाई राजिनामा गराएर पुनः मुख्यमन्त्री नियुक्त भएका थिए।